गोरखा : बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार अभियान तीव्र पारिएको छ । नेपाली सेनाले आइतबार साँझसम्म विभिन्न स्थानबाट ९५ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ९ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौं ल्याइएको छ ।

बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनाले एमआई–१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरेको छ । हेलिकोप्टरसँगै स्थलमार्गबाट समेत सेना परिचालन गरी जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउने कार्य जारी राखिएको छ ।
नेपाली सेनाले सार्वजनिक गरेको आइतबार साँझ ७ बजेसम्मको विवरणअनुसार जगतबाट १७, यारुबाट २२, ठूलोढुङ्गाबाट १३, दोभानबाट ३, फिलिमबाट २, न्याक्फेदीबाट १७, पायुबाट १२, नामरुङबाट ३, देङ्गबाट ३ र धौलीबाट ३ जनाको उद्धार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रका नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाले अन्य सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरेर अभियान सञ्चालन गरिरहेको जनाएको छ । दुर्गम तथा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
बाढीले पुल बगाएपछि बेलिब्रिज जडानको तयारी
बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि उक्त क्षेत्रमा सडक सम्पर्क प्रभावित भएको छ। अवरुद्ध आवागमन पुनःस्थापना गर्ने उद्देश्यले पुल रहेको स्थानमा बेलिब्रिज जडानको तयारी थालिएको छ ।
त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली परिचालन गरिएको छ। पुल पुनःस्थापनाको तयारीसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार र आवश्यक समन्वयका कामलाई पनि निरन्तरता दिइएको छ ।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणलाई प्राथमिकतामा राख्दै नेपाली सेनासहित सुरक्षा निकायका टोली परिचालित छन् ।






