सिन्धुपाल्चोक : नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा विजयी भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका तिमल्सिना विजयी भएका हुन् ।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तिमल्सिनाले नेपाल विद्यार्थी संघको पूर्वमहामन्त्रीको जिम्मेवारी सम्हाल्दै पार्टी संगठनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । विद्यार्थी संगठन निर्माण, पार्टी विस्तार र कार्यकर्तासँगको निरन्तर समन्वय उनको राजनीतिक यात्राका महत्वपूर्ण पक्ष हुन् ।
पार्टी सरकारमा रहँदा होस् वा प्रतिपक्षमा, सिन्धुपाल्चोकका विकास निर्माण र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका तिमल्सिना जिल्लाका मुद्दालाई केन्द्रसम्म पुर्याउने नेताका रूपमा परिचित छन् । विकास निर्माणका लागि बजेट व्यवस्थापनदेखि जिल्लाका आवश्यकता सम्बन्धित निकायसम्म पुर्याउन उनले पहल गर्दै आएको उनका समर्थकहरू बताउँछन् ।
कांग्रेस संगठन अप्ठ्यारो अवस्थामा रहेका बेला पनि कार्यकर्ता र संगठनको पक्षमा उभिँदै आएका तिमल्सिना समसामयिक राजनीतिक विषयमा स्पष्ट धारणा राख्ने नेताका रूपमा चिनिन्छन् ।
उनको विजयसँगै सिन्धुपाल्चोकबाट नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व थप सशक्त बनेको छ । युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित तिमल्सिनाबाट पार्टी संगठनलाई थप गतिशील बनाउने र जिल्लाका विकास तथा जनसरोकारका मुद्दालाई राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ ।






