पोखरा : कास्कीको पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएपछि डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा–बुटवल सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक र पैदलयात्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार २०८३ असोज २९ गते बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो ।
दुर्घटनामा पोखरा महानगरपालिका–१७ निवासी १९ वर्षीय मोटरसाइकल चालक सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमाल घाइते भएका थिए ।
दुवै जनालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






