सिन्धुपाल्चोक : चाैतारा साँगाचोकगढी नगरपालिका–२ ले विकट बस्तीका नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले बस्ती–बस्तीमै पुगेर भत्ता वितरण गरेको छ । वडाले लाभग्राहीको सहजतालाई ध्यानमा राख्दै बस्तीमै पुगेर सेवा दिने योजनाअनुसार यो अभियान सञ्चालन गरेको हो ।


साविक बतासे गाविसको पूर्वी भेगमा पर्ने बस्तीका स्थानीयलाई बैंक तथा बजारसम्म पुग्न कठिनाइ हुने गरेको छ । विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा शारीरिक रूपमा अशक्त नागरिकलाई भत्ता लिन टाढा पुग्नुपर्ने बाध्यता थियो । यही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले लाभग्राही भएकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना बनाएको हो ।
वडाध्यक्ष सुदीप श्रेष्ठका अनुसार नागरिकले सामाजिक सुरक्षा भत्ता लिनकै लागि अनावश्यक दुःख र सास्ती भोग्न नपरोस् भन्ने उद्देश्यले बस्ती–बस्तीमा पुगेर सेवा दिने व्यवस्था मिलाइएको हो । वडाको योजनाअनुसार विकट क्षेत्रका लाभग्राहीलाई लक्षित गरी भत्ता वितरण गरिएको उनले बताए ।
चाडपर्व नजिकिँदै गर्दा घरआँगनमै सामाजिक सुरक्षा भत्ता पाएपछि स्थानीय खुसी भएका छन् । बैंकसम्म पुग्नुपर्ने झन्झट, समय र खर्च बचत हुनुका साथै वृद्धवृद्धा तथा अशक्त नागरिकलाई ठूलो राहत मिलेको लाभग्राहीहरूले बताएका छन् ।

युवा वडाध्यक्षको पहलमा गाउँमै सेवा पाउँदा आफूहरूलाई सहज भएको भन्दै स्थानीयले वडाको कामको प्रशंसा गरेका छन् । विशेषगरी टाढाको बाटो हिँडेर बैंकसम्म पुग्न नसक्ने नागरिकका लागि बस्तीमै पुगेर सेवा दिने व्यवस्था प्रभावकारी बनेको छ ।
स्थानीय सरकार नागरिकको समस्या बुझेर उनीहरूकै बस्तीमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार अघि बढाइएको यो योजनाले विकट क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ । सेवा लिन नागरिक कार्यालय धाउनुपर्ने होइन, नागरिकको आवश्यकताअनुसार सरकार बस्तीमै पुग्नुपर्छ भन्ने उदाहरण वडा नम्बर २ ले प्रस्तुत गरेको छ ।






