काठमाडौं : नेपाल प्रहरीको प्रतिष्ठित ‘पुलिस ब्याटन’ यस वर्ष लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीले पाउने भएका छन् । प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कनका आधारमा लुम्बिनी प्रदेश उत्कृष्ट ठहरिएपछि खत्री उक्त सम्मानका लागि छनोट भएका हुन् ।

प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई प्रदान गरिने ‘पुलिस ब्याटन’ प्रहरी संगठनभित्र महत्त्वपूर्ण सम्मानका रूपमा लिइन्छ । अपराध नियन्त्रण, शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान, प्रहरी परिचालन, नागरिकमैत्री सेवा प्रवाह तथा संगठनात्मक व्यवस्थापनलगायतका सूचकका आधारमा प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गरिन्छ ।
प्रहरी सेवाको सुरुवातदेखि नै खत्री इमानदार र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा चिनिँदै आएका छन् । उनले काठमाडौं, रौतहट र काभ्रेलगायतका जिल्लामा विभिन्न जिम्मेवारी सम्हाल्दै शान्तिसुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणमा भूमिका निर्वाह गरेका थिए ।
रौतहटमा इँटाभट्टामा मानिसलाई जिउँदै जलाएको आरोपसँग जोडिएको चर्चित घटनामा तत्कालीन नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम पक्राउ पर्दा पनि खत्रीको नेतृत्वदायी भूमिका रहेको बताइन्छ । उक्त घटनाले देशव्यापी चर्चा पाएको थियो र आलमविरुद्ध कानुनी कारबाही अघि बढाइएको थियो ।
विभिन्न चुनौतीपूर्ण जिम्मेवारी सम्हाल्दै आएका खत्रीले लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएपछि अपराध नियन्त्रण, प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धि र प्रहरीप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकता दिँदै आएका छन् ।
प्रहरी संगठनमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय तथा नेतृत्वलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिने ‘पुलिस ब्याटन’ का लागि छनोट हुनुलाई खत्रीको नेतृत्व र कार्यसम्पादनको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।






