चौतारा : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका समाजसेवी तथा जलविद्युत् व्यवसायी मोहन विक्रम कार्कीले चौतारा वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको खाद्यान्न तथा चाडपर्व खर्चका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

सारथी अभियान नेपाल, सिन्धुपाल्चोकको समन्वयमा असोज ३० गते शुक्रबार चौतारा वृद्धाश्रम सेवा समितिलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

कार्कीले वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको दैनिक खाद्यान्न व्यवस्थापनका लागि एक वर्षसम्म प्रतिमहिना ४० हजार रुपैयाँका दरले ४ लाख ८० हजार रुपैयाँ र दसैँ खर्चस्वरूप थप २० हजार रुपैयाँ गरी कुल ५ लाख रुपैयाँ सहयोग गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले समाजसेवी कार्कीको सहयोगको प्रशंसा गर्दै असहाय ज्येष्ठ नागरिकको जीवनयापन सहज बनाउन निजी क्षेत्रबाट गरिएको सहयोग अनुकरणीय रहेको बताए ।
‘समाजका असहाय तथा ज्येष्ठ नागरिकको संरक्षण गर्नु राज्यको दायित्व हो। तर, राज्यको स्रोतसाधन पर्याप्त नपुगेका ठाउँमा मोहन विक्रम कार्कीजस्ता सहृदयी व्यवसायीले अघि सरेर एक वर्षसम्मका लागि खाद्यान्न र चाडपर्व खर्चको व्यवस्था गरिदिनु अत्यन्तै प्रशंसनीय कार्य हो,’ उनले भने ।
शर्माले यस्ता सामाजिक कार्यले प्रशासन र नागरिक समाजबीचको सम्बन्ध थप सुमधुर बनाउने उल्लेख गर्दै आगामी दिनमा पनि परोपकारी कार्यमा प्रशासनका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
वृद्धाश्रम सेवा समितिकी अध्यक्ष होमकुमारी पुरीका अनुसार कार्कीबाट प्राप्त सहयोग वृद्धाश्रमले हालसम्म पाएको सबैभन्दा ठूलो आर्थिक सहयोग हो । उक्त रकमबाट आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि तरकारी, फलफूल, दही, दूध, अण्डा तथा मासुलगायत पोषणयुक्त खाद्यवस्तुको व्यवस्थापन गर्न सहज हुने उनले बताइन् ।
हाल चौतारा वृद्धाश्रममा १५ जना ज्येष्ठ नागरिक र तीन जना सहयोगी आश्रित छन्। आर्थिक अभावका बीच आश्रमको दैनिक व्यवस्थापन गर्दै आएको समितिका लागि यो सहयोगले ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
व्यवसायी कार्की स्वयं कार्यक्रममा उपस्थित हुन नसके पनि उनको सहयोगलाई व्यवहारमा उतार्न सिन्धुज्वाला पत्रिकाका सम्पादक दिनेश दुलाल र सारथी अभियान नेपालकी अध्यक्ष सुमित्रा अधिकारीले समन्वय तथा सहजीकरण गरेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा पत्रकार महासङ्घ सिन्धुपाल्चोकका पूर्व अध्यक्ष जीवन कक्षपति, सञ्चारकर्मी तथा वृद्धाश्रम सेवा समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।
कार्यक्रममा समन्वयको भूमिका निर्वाह गरेका पत्रकार दुलालले आगामी केही महिनाभित्र वृद्धाश्रममा सोलार बत्ती जडान गर्ने तथा आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकको आधारभूत आवश्यकता पूरा गर्न एक वर्षसम्म नियमित आर्थिक सहयोग उपलब्ध गराउने कार्कीको पहलले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।






