काठमाडौँ ।

कैलास पर्वत चीनको तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित एक पर्वत हो । यस हिमालको उचाइ ६,७१४ मिटर (२२,०२८ फीट) छ । कैलास पर्वत तिब्बती पठारको पश्चिमी भागमा, पारहिमालयको कैलास पर्वतमालामा छ । कैलास पर्वत चीन, भारत र नेपालको सिमानाको पश्चिमी त्रिभुजको उत्तरमा १०० किलोमिटर (६२ माइल) भन्दा कम छ ।
कैलास पर्वत मानसरोवर ताल र राक्षस तालको नजिक छ । चारवटा प्रमुख एसियाली नदीहरूको स्रोत यस पहाड र दुई तालको नजिकै छ । यी नदीहरू सिन्धु, सतलज, ब्रह्मपुत्र र कर्णाली नदी हुन् । कैलास पर्वतलाई हिन्दु, बौद्ध, जैन र बोन गरी चार धर्ममा पवित्र पर्वत मानिन्छ । भारत, तिब्बत, नेपाल र अन्य विभिन्न राष्ट्रहरूबाट आउने तीर्थयात्रीहरूको निरन्तर आगमन पर्वतको पूजा गर्नको लागि यात्रामा निस्कन्छ ।
गैरआवासीय र खाँट्टी भारतीय दुवैमध्ये अधिकांश नेपालको बाटो हुँदै यस यात्रामा निस्किन्छन् । भारतको सिक्किम बोर्डर हुँदै कैलाश मानसरोवर जान सक्ने नाका भए पनि त्यो मौसमका कारण धेरै कठिन छ । भारत र चीनबीचको राजनीतिक उचार–चढावले पनि छिट्टै प्रभावित हुने गरेको छ । सोही कारण यस यात्रामा जाने लगभग सबैजसो भारतीय नेपालकै बाटो जान रुचाउँछन् ।
यस यात्राका लागि नेपाल हुँदै जाने निश्चित रुट छन् । यात्रुले यिनै रुटमध्ये एक छनोट गर्नुपर्ने हुन्छ । यी रुटमा यात्राका लागि लाग्ने अवधि, खर्च र यातायातको माध्यमका आधारमा शुल्क निर्धारित छन् ।
काठमाडौं–केरुङ रुट स्थल यात्राका लागि धेरै पर्यटक जाने बाटो हो । तर, यो रुटमा बाढीपहिरोले सखाप पारेपछि अहिले समस्या छ । त्यसकारण तातोपानी नाका हुँदै पर्वत जाने यात्रीको भीड अहिले देखिन्छ ।
तातोपानी रुटमार्फत् स्थलमार्ग हुँदै कैलाश मानसरोवर पुग्न सकिन्छ । यसका लागि काठमाडौंबाट तातोपानी हुँदै जानुपर्छ । । केरुङबाट भने तिब्बती सीमा पार गरी सडक यात्रा गर्दै एक दिनमा सिगात्से पुगिन्छ । सिगात्सेबाट सडकमार्फत् दुई दिनमा मानसरोवर पुग्न सकिन्छ ।
तिब्बती भेगमा सडकको अवस्था राम्रो रहे पनि नेपालतर्फ नाजुक रहेका कारण यात्रा केही कष्टकर हुन पुग्छ । काठमाडौं–तातोपानी रुट स्थलमार्गका लागि उपयुक्त छ । तथापि नेपालतर्फको बाटो सहज बनाउन सरकारले अलिक धेरै ध्यान दिन आवश्यक छ ।
हाल केरुङ्ग रुट बन्द छ । बाढीपहिरोले यस रुटमा पर्ने सडक बिगारेपछि अहिलेसम्म चालु हुन सकेको छैन ।
काठमाडौंबाट सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै खासा पुग्न सकिन्छ । खासाबाट सडक यात्रा गरी मानसरोवर पुग्न सकिन्छ । यो नाका पनि भुकम्प तथा बाढिपहिरोले समस्या बनाएको थियो । तर, अहिले एकमात्र विकल्पको रुपमा रहेको छ । महाभुकम्पपछि तातोपानी नाकाबाट बन्द जस्तै रहेको स्थलमार्ग हुँदै मानसरोवार जाने क्रम अहिले चीनियाँ पक्षले अनुमति दिएपछि सुरु भएको हो । यो नाकाबाट मानसरोवर जानेहरुको संख्या बढेको पर्यटन व्यवसायी पदम मगरले जानकारी दिए ।






