चौतारा ।

सिन्धुपाल्चोक जिल्लाको शिक्षा,स्वास्थ्य तथा विकासको नाम जोडेर राजनीति गरिरहेका नेताहरुको सन्तान भने मोजमस्ती र सम्पन्न अवस्थामा रहेका छन् । जिल्लाको राजनीतिमा पञ्चायतकालदेखि बहुदल हुँदै गणतन्त्रसम्म आईपुग्दा पनि नेताहरुका सन्तान भने राजनीतिमा लागेको पाईदैन । नेताहरुले आफ्ना सन्तान राजधानी वा विदेश पठाएर जिल्लामा राजनीति गरिरहेका छन् ।
एमालेका बरिष्ठ नेता तथा हाल सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहोरा दुई सन्तान छन् । एक छोरा भएको बोहोराको एक छोरीको विवाह भईसकेको छन् । छोरा पनि राजनीतिमा छैनन् । आफ्नै काम गरेर बसेका छन् । पञ्चायतकालमै सिन्धुपाल्चोकको राजनीति गरेर माननीय वनेर पच्चिस वसन्त मनाएका हालका राप्रपाका केन्द्रीय नेता पशुपति समसेर जवराका दुई छोरी पनि जिल्लासँग जोडिएका छैनन् । अथवा राजनीतिमा छैनन् ।
राणाका दुई छोरी नै राजनीतिमा छैनन् । भारत मामाघर भएका दुवैको भारतमै विवाह भएको छ । कान्छी देवयानी राणा दरवार हत्याकाण्डका बेला चर्चामा पनि थिइन् । जसलाई युवराज दीपेन्द्रका प्रेमिका भनेर चर्चा गरिएको थियो ।
माओवादीका उपाध्यक्ष रहेका अग्नि सापकोटा सिन्धुपाल्चोकको नाममा पटक पटक राजनीतिक लाभ लिने नेतामा पर्दछन् । सभामुखसम्म बनेका सापकोटाका तीन छोरा छन् । तीनैजना सरकारी रकम भित्राउनेमा पर्दछन् । जेठो दीपक सरकारी नियुक्ति लिएर बसेका छन् । माईलो रुपक पनि सरकारी नियुक्तिमै छन् । कान्छो भने लोकसेवा पास गरेर न्याय क्षेत्रमा काम गरिरहेका छन् । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहनवहादुर बस्नेतका पनि एक छोरा र एक छोरी छन् । उनीहरु दुवै बिदेशमा अध्ययन गरिरहेका छन् । बुढेशकालमा राणा खानदानमा विवाह गरेका बस्नेतले छोराछोरी काठमाण्डौँको महंगो विद्यालयमा पढाएका थिए । अहिले दुवैलाई सम्पन्न मुलुकमा लगेर राखेका छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वसांसद तथा पूर्वमन्त्री शेरवहादुर तामाङ्गका दुई छोरा पनि काठमाडौंमै बसेर महंगा बिद्यालयमा पढेका युवा हुन् । दुई मध्ये एक छोरा भने भर्खरै सम्पन्न युवा संघको अधिवेशनमा केन्द्रीय कमिटी सदस्य चयन भएका छन् ।
पूर्वप्रदेश मन्त्री अरुण नेपालको एकमात्र छोरा छन् । उनी पनि अमेरिकामा बस्छन् । पढाईमा अव्वल रहेका नेपालका छोराले चिनियाँ युवतीसँग विवाह गरेका छन् । उनीहरु दुवै अहिले अमेरिकामा बसेर काम गरिरहेका छन् । अर्का प्रदेशसभाका पूर्वमन्त्री तथा एमाले नेता सरेश नेपालका दुई छोरा छन् । जेठो छोरा नेपालमा छन् भने कान्छो छोरा अष्टे«लिया बस्छन् । जेठो छोरा निजी क्षेत्रवाट सञ्चालित एक जलविद्युत कम्पनीमा काम गर्ने पारिवारिक स्रोतले जानकारी दियो ।
सिन्धुपाल्चोक क्षेत्र नम्वर एकका सांसद माधव सापकोटाका सन्तान पनि काठमाडौंको महँगो विद्यालयमा पढिरहेका छन् । जिल्लाको शिक्षाका बारे निक्कै खरो कुरा गर्ने सापकोटाले काठमाडौंको निजी बिद्यालयमा जहाँ महंगो शुल्क लाग्छ छोराहरु त्यही पढाईरहेका छन् । प्रदेश सांसद तथा प्रदेशका पूर्वमन्त्री युवराज दुलालका सन्तान पनि काठमाडौँको सुबिधा सम्पन्न बिद्यालयमा नै अध्ययन गरेका हुन् । उनका एक छोरा विदेश बस्छन् भने छोरीको विवाह भइसकेको छ ।
उनका सन्तानले पनि सिन्धुपाल्चोकको दुःख भोग्न परेको छैन । पूर्व संसद तथा एमालेका केन्द्रीय सदस्य सुवास कर्माचार्यका छोरा पनि राजनीतिमा सकृय छैनन् । एक व्यपारमा छन् । अर्का विदेशतिर छन् । अर्का प्रदेश सांसद सरल सहयात्री पौडेलका छोरा र छोरी पनि काठमाडौँकै महंगो विद्यालयमा पढिरहेका छन् ।
गाउँको परिवार बिगतमा जेनतेन छाक टार्ने पौडेलका सन्तान पनि अहिले सुबिधा सम्पन्न अवस्थामा हुर्किईरहेका छन् । अर्का प्रदेश सांसद मसिना खड्काका बालबच्चालाई पनि सिन्धुपाल्चोकको दुःख भोगेका छैनन् । उनका सन्तान पनि अमेरिकामा मस्तीमै छन् । हुनत खड्काले चुनावका बेला सम्पत्ति विवरण नै १७ अर्व रुपैयाँ बुझाएको चर्चा भएको थियो ।






