चौतारा ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जिल्लामा भएका बिभिन्न घटना र कारवाहीको विवरण सार्वजनिक गरेको छ । प्रहरीले जिल्लामा विगतको तुलनामा अपराधका काममा द्रुत गतिमा कारवाही र द्रुत ‘रेस्पोन्स’ भएको जनाएको छ । राजस्व संकलनदेखि शान्ति सुरक्षाका काममा प्रहरीको क्रियाशीलता द्रुत गतिमा भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । असार महिना र गत वर्षकै आपराधिक गतिविधि र कारवाहीको बारेमा प्रहरीले जानकारी दिएको हो ।
गत आर्थिक वर्षको स्थिति
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा आत्महत्याका मुद्दा ६८ वटा दर्ता भएका छन् । सार्वजनिक कसुर ३३ मुद्दा दर्ता भएको थियो । वर्षभर जबर्जस्ती करणीका ३२, ज्यानमार्ने उद्योग १०, कर्तव्य ज्यान सम्बन्धी ८ र चोरीका ८ वटा मुद्दा दर्ता भएका छन् । फरार प्रतिवादी पक्राउ गरेर ४ करोड ६२ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलनमा सहयोग गरेको छ । ८७ लाख ३६ हजार रुपैयाँ बिभिन्न सामान बरामद गरेर राजस्व सङ्कलन गरेको छ । ४१ लाख २७ हजार ५ सय दुई रुपैयाँ ट्राफिक कारवाही वाट राजस्व सङ्कलन गरिएको छ । वर्षभर ४ करोड ४५ लाख ३३ हजार रुपैयाँको बिभिन्न बिपद्मा क्षति भएको छ । १ सय २६ वटा महिला तथा बालबालिका सम्बन्धी उजुरी परेका थिए । घरेलुहिंसाका ५४ वटा घटनामा सहमति गराइएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार असार महिनामा मात्र जिल्लाभर भवितव्य ज्यान सम्बन्धी ७ वटा मुद्दा दर्ता भएका छन् । असारमा जबर्जस्ती करणी र बैकिङ कसुरमा पनि दुई वटा मुद्दा दर्ता भएका छन् । अन्य बिभिन्न विषयमा असार महिनामात्र १९ वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दियो ।
१ लाख ८६ हजार ९ सय ३० रुपैयाँ असार महिनामा राजस्व सङ्कलन गरेको थियो । चार लाख ७७ हजार रुपैयाँ ट्राफिक चेकिङ वाट राजस्व सङ्कलन गरेको थियो । असार महिनाभरमा जिल्लामा बिपद्बाट २ करोड २२ लाख ४६ हजार ९ सय १३ रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।






