जिल्लाको तातोपानी नाका र अरनिको राजमार्गका बारेमा छलफल गर्न बाह्रबिसेमा एक कार्यक्रम आयोजना गरियो । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा सबै दलका प्रतिनिधि र जनप्रतिनिधिहरूलाई आमन्त्रण गरिएको थियो ।

साथै, जिल्ला प्रशासन कार्यालय,प्रहरीलगायत सरकारी निकायका प्रतिनिधिलाई पनि कार्यक्रममा आमन्त्रण गरिएको समन्वय समितिले जनाएको छ । तर, सो कार्यक्रमका बारे माओवादी भने असहमति जनाएपछि विवाद सुरु भएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईबाट निर्वाचित हाल निलम्बनमा परेका मोहनबहादुर बस्नेतको सहभागितालाई लिएर माओवादीले आपत्ति जनाएको छ ।
यो विषयमा प्रमुख जिल्ला अधिकारीलाई पनि जोडेर माओवादीले असन्तुष्ट जनाएको छ । तर, यस विषयमा प्रमुख जिल्ला अधिकारी किरण थापाले भने आफू पनि सहभागीका रुपमा छलफलमा गएका कारण आफ्नो नाम जोड्न आवश्यक नभएको बताए । त्यसोत सबै दलका सांसद र दलका प्रतिनिधिलाई पनि खवर गरेको जानकारी पाएपछि जिल्लाको समस्या समाधानमा आफू गएको प्रजिअ थापाले बताए ।
यो विषयमा बखेडा आवश्यक नभएको काँग्रेस क्षेत्र नम्बर एकका सभापति तथा बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेतले बताए । पूर्वमन्त्री तथा काँग्रेसका केन्द्रीय सदस्यलाई हाल मुद्दा दर्तामात्र भएको र अदालतले निरुपण नगरेको अवस्थामा दोषी नहुने उनले बताए । त्यसोत माओवादीका उपाध्यक्ष रहेको अग्नि सापकोटाको पनि अदालतमा मुद्दा दायर भएको अवस्था रहेको बेला धेरै कार्यक्रममा सहभागि भएको बस्नेतले सम्झाए ।
माओवादीहरूले जिल्ला, तातोपानी नाका र अरनिको राजमार्गको विकासमा अवरोध खडा गरेर बखेडा झिकेको बस्नेतको भनाइ छ ।
यस क्षेत्रको विकासमा मोहन बस्नेतले गरेको योगदानलाई सम्झेर पनि प्रमुख अतिथि बनाएको हुन सक्ने भन्दै माओवादीले राजनीतिक प्रतिशोध लिएको मेयर बस्नेतले बताए ।






