काठमाडौं । राजेश अहिराज केपी ओलीको अघिल्लो प्रधानमन्त्रित्वकालमा २ नम्बर प्रदेशको प्रमुख नियुक्त भएका थिए । अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।
उनै अहिराज अहिले बालिकाको उजुरीका आधारमा पक्राउ परेका छन् ।

युवतीलाई एअर होस्टेस बनाइदिने प्रलोभनमा जबरजस्ती करणी गरेको आरोप उनलाई लागेको छ । उनलाई प्रहरीले आज काठमाडौंबाट समातेको हो ।
जबरजस्ती करणीको जाहेरीपछि फरार अहिराज भारतमा लुकिछिपी बस्दै आएका थिए । हालै नेपाल छिरेका उनी काठमाडौंमा गोप्य रुपमा बसेको सूचनाको आधारमा प्रहरीले आज फेला पारेको हो ।
चैत २५ गते उनीविरूद्ध काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसअघि महिला आयोगमा यसवारे उजुरी परेको थियो ।
उनीमाथि काठमाडौँको बानेश्वरमा गत वर्ष जेठमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा जाहेरी परेको हो । उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएर ५ दिनको म्याद थप गरिएको छ ।
उता अहिराजले पनि ती महिलाविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी दिएको बताइन्छ । गत चैत २५ गते प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि उनी फरार थिए ।






