नेकपा एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीमा निस्शर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने बताएकी छन्।

सोमबारदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा मंगलबार बोल्दै उनले कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाउनुपर्ने पनि बताएकी छन्।
एमाले मुख्यालय बनाउनका लागि व्यापारी मीनबहादुर गुरूङको सहयोगबारे सामाजिक सञ्जालबाट प्रश्न गर्दा पार्टीबाट निलम्बनको सजाय भोगिसकेकी तिम्सिनाले पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रिया निस्शर्त हुनुपर्ने आवाज उठाएकी हुन्।
उनले एमाले विधानको धारा ६४ कायम राख्न माग गर्दै भनिन्, ‘कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाऔँ।’
अध्यक्ष ओलीले दुई कार्यकाल पार्टी चलाइसकेको उल्लेख गर्दै उनले भनिन्, ‘वर्तमान अध्यक्ष कमरेडले २ कार्यकाल अध्यक्ष चलाइसक्नुभयो, उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ। अब निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो।’






