केरुङमा रोकिएका २०३ जना नेपालीलाई चीन सरकारले आज तातोपानी ल्याउँदै छ । उनीहरु रसुवाको बाढीका कारण तिव्वत क्षेत्रमा नै अड्किएका थिए । उनीहरुलाई लाई आज तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापका अनुसार तिब्बतको न्यालम प्रशासनले ल्याएका नेपालीलाई नेपाल सरकारका प्रतिनिधिका रुपमा सिन्धुपाल्चोकका प्रजिअ थापासहितको स्थानीय प्रशासनको टोलीलाई जिम्मा दिने कार्यक्रम रहेको छ ।

केरुङबाट रसुवा नाका भएर नेपाल आउन मितेरी पुल पूर्ण रुपमा बगाएको छ भने नेपालतर्फ यातायात सञ्चालनमासमेत कठिनाइ रहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमाल सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिले आफ्ना कर्मचारी र मजदुर केरुङमा अड्कीएकोमा उद्धारका लागि सरकारलाई अनुरोध गर्दै आएको थियो । उनीहरुलाई काठमाडौंसम्मको यात्राको व्यवस्था पूर्वअरनिको यातायात प्रालिले निशुल्करुपमा गरेको अध्यक्ष केदार क्षत्रीले वताए ।
उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले केरुङस्थित व्यापारिक फर्मका कर्मचारी, कन्टेनर मजदुर तथा सहयोगीहरुले आफूहरुलाई नेपाल ल्याउन अनुरोध गरेको बताए । तातोपानी आउने नेपालीलाई काठमाडौं पुर्याउने र तत्काल खानाको व्यवस्था भोटेकोशी गाउँपालिकाले गर्ने जानकारी प्रजिअ थापाले दिए । नेपालीहरुको टोली मध्यान्ह तातोपानीस्थि मितेरी पुल आइपुग्ने तयारी रहेको छ । उनीहरुलाई केरुङलगायतका विभिन्न स्थानबाट ल्याइएको हो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले उनीहरुलाई निःशुल्क नेपाल ल्याउन लागेको हो ।






