ल्हासा ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासाले एक विज्ञप्ति जारी गरी दुवै मुलुकबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजान प्रतिबद्धता व्यक्त गरेको छ।
महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले विज्ञप्तिमा चीनको जनवादी गणतन्त्रका सरकार र जनताप्रति नेपालको तर्फबाट आभार व्यक्त गर्दै विगत सात दशकदेखि प्राप्त सहयोग र समर्थनले दुवै मुलुकबीचको सम्बन्धलाई गहिरो बनाएको उल्लेख गरेका छन्।
सन् १९५५ अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र चीनबीच विश्वास, आपसी सम्मान र सहकार्यका आधारमा सम्बन्ध विस्तार हुँदै आएको विज्ञप्तिमा जनाइएको छ। व्यापार, संस्कृति, पर्यटन र पूर्वाधार विकासलगायत विभिन्न क्षेत्रमा यो साझेदारीले महत्वपूर्ण प्रगति हासिल गरेको महावाणिज्यदूतावासको भनाइ छ।
‘उच्चस्तरीय आदानप्रदान र सहकार्यका पहलहरूले दुवै मुलुकका जनताबीच ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै ल्याएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यी सम्बन्धहरू साझा मूल्य र भौगोलिक निकटताले अझ सुदृढ भएका छन्, जसले भविष्यमा पनि समृद्ध र सौहार्दपूर्ण सहकार्यलाई प्रेरित गर्नेछ।’
महावाणिज्यदूतावासले जनस्तरको सम्बन्धलाई अझ बलियो बनाउन सांस्कृतिक, आर्थिक र सामाजिक आदानप्रदानमा जोड दिँदै आगामी दिनमा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।
‘नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको हार्दिक शुभकामना,’ विज्ञप्तिमा भनिएको छ।






