हेटौँडा ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर एकमा टिकट नपाएपछि दुईमा पुगेका मोहनबहादुर बस्नेतले प्रदेश तहको टिकट खाली लिएर गएका थिए । प्रदेशको एक सिट माओवादीलाई दिएपनि अर्को सिटमा धेरैले आँकाक्षा राखेका थिए । तर, मेलम्ची खानेपानी आयोजनामा पेटी ठेकेदार रहेका एक युवालाई उनले चुनाव लडाए र जिताए ।
चुनाव जिताएर मोहन बस्नेतकै लाइनमा काम गरिरहेका कृष्णकुमार तामाङले एकाएक काँग्रेसको आन्तरिक किचलोमा गुट फेरिदिए । र, मन्त्री बने । हरेक कुराको जस आफैले लिन पर्ने बस्नेतलाई हेटौडाबाट इन्द्र बानियाँले चक्मा खुवाइदिए । अघिल्लो पटक संसदीय दलको नेतामा बस्नेतले गरेको हर्कतको बदला लिए ।
बहादुर सिंह लामा र इन्द्र बानियाँ चुनाव लड्दा मोहन बस्नेतकै अगुवाईमा बानियाँ हराइएको थियो । उनै कृष्णकुमारहरुले मोहनको निर्देशनमा बहादुरलाई मत हालेका थिए ।
अहिले अख्तियारले मुद्दा दायर गरेर बस्नेत कमजोर भएको मौकामा बानियाँले मात्र होइन आफैँले टिकट दिएका कृष्णकुमारहरुले पनि लोप्पा खुवाइएर आफू मन्त्री बने ।
बानियाँ नेतृत्वको सरकारले पहिलो बैठकबाट नै कृष्णकुमारलाई बागमती सरकारको प्रवक्ताको जिम्मेवारी दिए । त्यसोत बागमती संसदीय दलका सचिव रहेका कृष्णकुमारलाई बहादुर सिंहविरुद्धको अविश्वासको पत्र नबुझ्न निर्देशन पनि थियो ।
तर, उनले इन्द्र बानियाँले बुझाएको अविश्वासको पत्र काठमाडौँ बाट हेटौँडा पुगेर बुझिदिएर बानियाँलाई गुन लगाएका थिए । त्यही गुनको बदलमा मन्त्रालय र प्रवक्ताको जिम्मेवारी दिएको सिन्धुपाल्चोकका काँग्रेस सभापतिको अनुमान छ ।






