भोटेकोशी ।

सामान्यतया होमस्टे गाउँका घरहरूमा सञ्चालन गरिन्छ । तर, सिन्धुपाल्चोकको लिस्तीमा चौँरी चर्ने खर्कमा रिसोर्ट शैलीमा होमस्टे बनाउने योजना अघि सारेपछि स्थानीयवासीले चर्को विरोध गरेका छन् । चौँरी चर्ने खर्क र गोठ मासेर करोडौँ सरकारी बजेट लगानी गरेर होमस्टे निर्माण नगर्न स्थानीयवासीले गाउँपालिकालाई अनुरोध गरेका छन् ।
भोटेकोशी गाउँपालिका वडा नम्बर एकको चौँरी खर्कमा होमस्टे सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । आठ करोड रुपैयाँ भन्दा धेरै सरकारी रकम होमस्टेका लागि लगानी गर्न आवश्यक नरहेको यहाँका स्थानीयको भनाइ छ ।
गाउँका घरहरूमा स्थानीय रोजगारीका लागि होमस्टे सञ्चालन गर्ने नियम हो । तर, यहाँ सरकारी बजेट नै लगानी गरेर भक्तपुरबाट काठ लगेर भवन निर्माण गर्न लागिएको छ । यो सरकारी रकम दुरुपयोग गरेर भुँडी भर्ने योजना रहेको स्थानीय दावा शेर्पा बताउँछन् ।
भैरवकुण्ड जाने बाटो चोकरमोकर भन्ने ठाउँ चौँरी चराउने र गोठ राख्ने ठाउँ हो । यही ठाउँ मासेर रिसोर्टको अवधारणामा भवन बनाउने निर्णय गर्नु नै भ्रष्टाचार भएको स्थानीय निमा शेर्पा बताउँछन् । भोटेकोशी एकका वडाअध्यक्ष राजु लामा र गाउँपालिकाका अध्यक्ष पासग नोर्बु शेर्पाले सरकारी बजेट दुरुपयोग गरेर यहाँ काम गर्न लागेको स्थानीयको आरोप छ । यो संरक्षण क्षेत्र पनि हो । वन्यजन्तुको वासस्थान रहेको यस्ता क्षेत्रमा संरचना निर्माण गर्न बन्देज छ ।
‘भैरवकुण्डसम्म जाने बाटोको अवस्था साह्रै दयनीय छ । गाउँमा पानी, बिजुली र सिंचाईसमेत समस्या छ तर, सरकारी बजेट जंगलकोबीचमा होमस्टे सञ्चालन गर्न भवन बनाउन खर्च गर्छन्,’ ‘यो आपराधिक काम हो, स्थानीय पेम्बा शेर्पाले भने, होमस्टे भन्दा पनि गाउँपालिका अध्यक्षले आफैँ रिसोर्ट चलाउने योजनामा यो काम गरेका हुन् ।’
त्यसोत पालिका अध्यक्ष शेर्पा विवादित व्यक्ति हुन् । पटक पटक प्रहरीले पक्राउ गरेर सजाय भोगेका अध्यक्ष शेर्पा काठमाडौँ सहकारी ठगी काण्डमा पनि जोडिएका छन् । उनले लगेको करोडौँ रुपैयाँ ऋण नतिरेर सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको बताएको छ ।






