चौतारा ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायब उपरीक्षक ( डिएसपी ) माधवराज खरेलले आफ्नै भान्से शङ्कर कार्कीलाई कुटपिट गरेको समाचार बिभिन्न सञ्चारमाध्यममा चर्चा भयो । भान्सेको मात्र भनाइ राखेर समाचार बनाएको जिल्ला प्रहरी कार्यालयले असन्तुष्टि व्यक्त गरेको छ ।
यस विषयमा डिएसपी खरेलको भनाइ जस्ताको तस्तैः
म सामान्य अवस्थामा बिहानको खाना १२ः३० देखि १३ः ०० बजेभित्र खाने गर्छु । साउन २२ गते काम विशेषले १२ः१५ को समयमा नै बाहिर जानुपर्ने भएका कारण आफूसँग खटिएका प्रहरी जवानमार्फत सिनियर प्रहरी अधिकृत मेसमा खटिएका कार्कीलाई १२ बजेसम्म खाना बनाइसक्नु भनी आदेश दिएँ । तर कार्कीले आदेशबमोजिम खाना बनाउनुको सट्टा उत्तेजित तवरले कुरा गरी खाना नबनाइ बसेछन् । म खाना नखाई बाहिर गएँ । १४ः०० बजेको समयमा कार्यालय फर्किएर खाना मगाउँदा कार्कीले पुनः उत्तेजित हुँदै प्रहरी जवानसँग रुखो व्यवहार देखाएछन् ।
उनले देखाएको व्यवहार अनुशासनहीन र उत्तेजित देखिएपछि बोलाएर सोधपुछ गर्न थालेँ । सोधपुछ गर्न खोज्दा भान्से कार्कीले हातमा रहेको सेरामिक्स प्लेटले एक्कासि म माथि प्रहार गरे । प्लेट प्रहारबाट मलाई चोटपटक पनि लागेको छ ।
कार्कीलाई नियन्त्रणमा लिन आदेश दिएँ र म अस्पताल गएँ । त्यसपछि नियन्त्रणमा लिएर क्वार्टर गार्डमा राखियो । क्वार्टर गार्डमा पनि उनले होहल्ला गर्ने, गालीगलौज गर्ने जस्ता अमर्यादित व्यवहार देखाएपछि यस्तो कार्य नगर्न भन्दै कार्यालयका सुवेदार मेजर, हवल्दार मेजर तथा गार्ड कमाण्डहरुले सम्झाउन खोजेछन् । उनीहरुलाई समेत मुख लाग्ने, गाली गरेका थिए ।
त्यसपछि फिल्ड अधिकृत डिउटीमा रहेका इन्स्पेक्टर रुपेश साह सम्झाउन गएका रहेछन् । उनले फिल्ड अधिकृतलाई त लात्तिले नै प्रहार गरेछन् । यसरी फौजी अनुशासन र चेन अफ कमाण्ड विपरीत अमर्यादित कार्य गरेकोले प्रहरी ऐन र नियमावली अनुरूप नै कारबाही गरिएको हो । भान्सेले लगाएका सबै आरोपहरू निराधार हुन् । मैले सात्विक भोजन गर्नेगरेको तर यस घटनामा बाहुन, बासीभात इत्यादि कुराहरूको कुनै सम्बन्ध नै छैन ।
मैले त १- २ महिनामा एक पटक भात खान्छु तसर्थ बासी भातको कुरै आउँदैन । सामाजिक सञ्जालमा जुन प्रकार पीत पत्रकारिताले स्थान पाएको छ, यो व्यवसायीक पत्रकारिता होइन । तत् तत् पत्रकारहरुले आम नागरिक माथि गरेको विश्वासघात हो ।
जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले पनि भान्से कार्कीले डिएसपी र इन्स्पेक्टरलाई प्रहार गरेको पुष्टि भएको दाबी गर्दै भने, ‘प्रहरी अनुशासन र चेन अफ कमान्ड तोडेकाले विभागीय नीतिअनुसार बर्खास्त गरिएको हो ।’






