भोटेकोशी गाउँपालिका–२ अन्तर्गत कोदारी,इको क्षेत्रमा लगातार पहिरो र सडक भासिने समस्याका कारण विगत १० दिनदेखि आवागमन पूर्ण रूपमा अवरुद्ध भएकोमा समाधानका लागि माओवादी सिन्धुपाल्चोकले पहल गरेको छ । सासद माधव सापकोटाको नेतृत्वमा आज बागमती प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेललगायत माओवादीहरुले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्ट र भौतिक पुर्वधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा संग भेटगरी गम्भीर छलफल गरेका छन् ।

हरेक वर्ष दोहोरिँदै आएको यस समस्याबारे स्थानीय पीडित तथा प्रभावित समुदायसँगको विचार–विमर्शमा, इको क्षेत्रको समस्यालाई राष्ट्रिय प्राथमिकतामा राख्न जोडदार आग्रह गरेको जनाइएको छ ।रसुवागढी नाका समेत बन्द रहेको अवस्थामा तातोपानी नाकालाई निरन्तर सुचारु राख्ने आवश्यकतामा जोड दिइएको सासद सापकोटाले बताए ।
यसै विषयलाई हिजो प्रतिनिधि सभाको आकस्मिक समयमा उठाई सरकारको ध्यानाकर्षण गराएको पनि सासद सापकोटाले बताए ।






