काठमाडौं ।
नायव सुब्बा युवराज गिरी लामो समयदेखि शहरी विकास मन्त्रालयमा स्टोर प्रमुखको जिम्मेवारीमा थिए । तर उनलाई स्टोरको काममा होइन, जतिबेलै मन्त्रीकै अघिपछि भेटिन्थ्यो ।

मन्त्रीको दैनिक कार्यतालिकाको विषयमा सचिव, सहसचिव र सचिवालयका कर्मचारी भन्दा बढी उनी जानकार हुन्थे । आफूलाई राज्यमन्त्री सरह सोचेर व्यवहार गर्ने गरेको आरोप थियो । रामकुमारी झाँक्री मन्त्री भएको बेलामा मात्रै होइन, उनको रवाफ अरु मन्त्री हुँदा पनि उत्तिकै थियो ।
मन्त्रालयमा कार्यरत कर्मचारी पनि उनको हर्कतबाट असन्तुष्ट थिए । अहिले गिरी भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालय पुगेका छन् । त्यहाँ पनि स्टोर शाखाकै हालीमुहालीमा गिरी छन् । सामान्यतया कुनै पनि कर्मचारीलाइ सुबिधा हुने कार्यालयमा लगातार राखिँदैन । कर्मचारी नियमावलीमा पनि केही बर्ष सुगममा बसेपछि दुर्गममा जानै पर्ने बाध्यकारी नियम हुन्छ । तर, गिरीको हकमा आकर्षक स्थान मात्र बसेको देखिन्छ । उनको कर्मचारी व्यक्तिगत सूचना प्रणालीमा हेर्दा पनि उनले दशौं बर्ष सहरी विकास मन्त्रालयको स्टोरमा बसेर हालिमुहाली गरेको देखिन्छ । त्यो पनि पटक पटक अवैध असुलीमा उनको नाम आएको छ ।
गिरी २०७२ सालमा शहरी विकास मन्त्रालयले हतारमा त्रिपाल खरिद गरेर अनियमितता गरेको आरोप लागेको थियो । सोही क्रममा उनी तीन वर्षसम्म निलम्बनमा पनि परेका थिए ।
सुब्बा पदमै रहँदा सरकारी गाडी चढ्ने उनै हुन् । त्यो पनि चालक राखेर । सामान्यतया सरकारी सेवामा रहेका उप–सचिव स्तरका कर्मचारीलाई मात्र मन्त्रालयले चारपांग्रे सवारी उपलब्ध गराउँछ । गिरीले सरकारी सम्पत्तिको चरम दुरूपयोग गर्दै सिंहदरबारमै बसेर ऐन र कानुनको खिल्ली उडाइरहेका छन् । तर, त्यत्ति हुँदा पनि उनलाई निलम्बन गर्ने त परै जाओस् स्पष्टीकरण समेत कसैले सोध्न सकेका छैनन् ।
सरुवामा सुब्बा युवराज गिरीकै हात हुने गरेको छ । भूमि व्यवस्था बिभागामा पहुँच राखेर बिभिन्न मालपोत कार्यालयमा सरुवा हुनेको लाईन उनीसँग पुगेको दृष्य देखेका एक उपसचिव छक्क परेको बताउँछन् ।
मन्त्रालयमा आएका फाइल, योजना र सरुवा बढुवामा समेत उनको हात रहने मन्त्रालय स्रोत बताउँछ ।
डेढ वा दुई वर्षमा सरकारी कर्मचारीहरूको सरुवा हुने गर्छ । तर, गिरी भने १० वर्षभन्दा लामो समयदेखि मन्त्रालयको स्टोर प्रमुखको रूपमा काम गरे । उनलाई सरुवा गर्न नखोजेको पनि होइनन् । सुब्बासापको पावरको अगाडि कसैले केही पनि नचलेको स्रोतले जनाएको छ ।
आम्दानीकै रुपमा हेर्ने हो भने एउटा सुब्बाको जागिरको रकमले घरपरिवार पाल्नै ठिक्क हुन्छ । जागिरको आधारमा सामान्य सम्पत्ति जोड्न सकिएपनि आलिसान महलमा उनको बास हुन्छ । सुब्बाकै तलवले उनले बनाएको घर देखेर छक्क पर्ने आफन्तहरु धेरै छन् । गिरी भने यी बिषय मिथ्या भएको बताउँछन् ।






