काठमाडौँ ।

कोदारी–इको पहिरोले यस क्षेत्रमा आवागमनमा समस्या पारेको ११ दिन बितिसकेको छ । योबीचमा समस्या समाधानका लागि संघ संस्था र राजनीतिक दलका नेताहरु सरकारी निकायको ढोका ढकढक्याउँदै हिँडेको पनि धेरै देखिएको छ । अझै पनि समस्याको समाधान गतिलोसँग भएको छैन । तैपनि सरोकारवालाहरुले पहल गर्न छोडेका छैनन् । यस क्षेत्रका व्यवसायी,राजनीतिक नेताले दवाव बढाएपछि केही आश्वासन भने मिलेको छ । पछिल्लो पटक भौतिक योजना मन्त्रालयले पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने औपचारिक पहल सुरु गरेको छ ।
बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल,सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैसी, भूगर्भविद् डा. रञ्जन दाहाल, स्थानीय जनप्रतिनिधि, विभिन्न दलका नेता तथा व्यवसायी सङ्घ–संस्थाका प्रतिनिधिबिच भएको विस्तृत छलफलपछि भदौ १५ भित्र सडक सुचारु गर्ने लगायतका पाँचबुँदै निर्णयहरू गरिएको एमाले नेता सरेश नेपालले बताए ।
सडकको दीर्घकालीन समाधानका लागि सरकार तथा सरोकारवालाबीच विस्तृत छलफलपछि पाँच बुँदे निर्णय गरिएको सार्वजनिक गरिएको छ ।
जमिनभित्र पानी प्रवेश हुन नदिन प्लास्टिक र त्रिपालले सतह ढाक्ने, विज्ञहरूको सुझावअनुसार जमिन भासिने मुख्य कारण भित्रको पानी भएकाले, प्रविधि प्रयोग गरी ड्रिलिङमार्फत पानी निकाल्ने, थप पहिरोको जोखिम रोक्न आवश्यक स्थानमा ग्याभियन वाल निर्माण गर्ने, सम्पूर्ण काम आगामी भदौ १५ गतेभित्र सम्पन्न गरी अरनिको राजमार्ग सञ्चालनमा ल्याउने र इको पहिरोलाई विपद् क्षेत्र घोषणा गरी आवश्यक स्रोत–साधनको दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय भएको मन्त्री देवेन्द्र दाहालले प्रेस पानालाई बताए । छलफलमा यस क्षेत्रका सांसद माधव सापकोटा पनि थिए ।
इको क्षेत्रको समस्या सडक यातायात मात्र नभई वस्ती, व्यापार, पर्यटन र सीमापार व्यापारसँग प्रत्यक्ष जोडिएको विषय भएकोले राष्ट्रिय प्राथमिकतामा राखेर दीर्घकालीन रणनीति अपनाउन आवश्यक रहेको सहभागि भोटेकोशी गाउँपालिका वडाअध्यक्ष कुमार श्रेष्ठले बताए ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रतिनिधिहरुको काम नै बिभिन्न मन्त्रालय र निकायमा धाउने भएको थियो । उनीहरुले भन्सार बिभाग,उद्योग तथा आपूर्ति मन्त्रालय,भौतिक मन्त्रालय र अर्थमन्त्रालयमा पनि दवाव बढाएका थिए । अर्थमन्त्री बिष्णु पौडेलले व्यवसायीसँगको भेटकै बेला भौतिक पूर्वाधार सचिवलाई भेटेर समस्या समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।
सीमापार वणिज्य संघका बरिष्ठउपाध्यक्ष गंगाबहादुर घिमिरेका अनुसार सडक अवरुद्ध हुँदा चीनबाट ल्याइएका खाध्य सामग्री कुहिएका छन् । आपतकालीन सामग्री, औषधि तथा खाद्यान्न ढुवानी प्रभावित भएपछि भरियामार्फत बोकाएर सामान काठमाडौँ ल्याउने काम पनि भइरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवका अनुसार तोकिएको समयसीमा भित्र काम सम्पन्न गर्ने योजना छ । आवश्यक उपकरण, प्राविधिक टोली र निर्माण सामग्री तत्काल पठाइसकिएको छ । अझै व्यवस्थितरुपमा यहाँको काम गरिने छ । भौतिक मन्त्रीले बिशेष पहल लिएपछि एमाले नेता सरेश नेपालले, भोटेकोशीको कोदारी पहिरोको स्थिति, समस्या र समाधान बिषयमा नेपाल सरकारका मन्त्री देबेन्द्र दाहालको पहलमा भएको बैठकले सफलता पाएको बताए ।

आवागमनलाई सहज बनाउन तत्कालिन, मध्यकालिन र दीर्घकालिन प्रारुप, भौगोलिक तथा मौसमी जटिलताहरु, ब्याबसायीहरुले भोग्नु परेका समस्या र राजस्व संकलनमा परेका प्रभाव सम्बन्धमा अन्तरकृया गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले देखाउनु भएको सकृयता प्रति धन्यबाद पनि नेपालले दिएका छन् ।






