चौतारा । नेकपा (एमाले) सिन्धुपाल्चोकको प्रतिनिधि परिषद्को पहिलो बैठक मंगलवारदेखि हुँदैछ । जिल्लाको मेलम्चीमा भदौ तीन गते आयोजना हुने यो बैठकको तयारी करीव सकिएको छ ।

बैठकमा ७ सय ४५ प्रतिनिधि सहभागि हुनेछन् । केन्द्रीय महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।
बैठकमा जिल्ला समितिको यो कार्यकालको उपलब्धि, आगामी योजना र पार्टी सुदृढिकरणको योजना निर्माण गरिने जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठले बताए । साथै, आगामी दिनमा हुने चुनौती र सामनाका बारेमा योजना निर्माण गर्न पनि यो बैठक सफल हुने छ । सम्भावनाको खोजी गर्दै र विगतको कामको समीक्षा गर्दै थप सुदृढ हुनका लागि बैठकमा छलफल हुने छ । बिभिन्न दस्तावेज अनुमोदन गर्दै एमाले सिन्धुपाल्चोक थप चलायमान हुने पनि अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिनिधि र नेताहरू सहभागि भएर स्पष्ट रुपमा अघि बढ्ने एमाले सिन्धुपाल्चोकको योजना रहेको छ । केन्द्रीय विधान महाधिवेशनका सन्दर्भमा पनि यो बैठक आयोजना भएका कारण आएका हरेक सुझाव र सल्लाहलाई माथिल्लो निकायमा पठाउने काम गरिने अध्यक्ष श्रेष्ठले बताए ।






