बाह्रबिसे नगरपालिकाको वडा ८ र ९ मा सुरुङ्ग निर्माण गरेर कालिका हाइड्रोवापरले बिद्युत उत्पादन गर्न लागेको छ । यसका लागि सरकारी अनुमति पाईसकेको छ । नौ अरव भन्दा धेरै रुपैयाँ लगानी हुने प्रारम्भीक अनुमान छ ।
यो परियोजनाको फाईदा र वेफाईदा दुवै कोणबाट अध्ययन गरिनु आवश्यक छ । यति ठूलो परियोजना निर्माण हुँदा असर त पक्कै पर्छ नै । यसलाई समाधानको पहल पनि सँगै लैजानु पर्छ । आयोजना नै रोक्ने पनि विकल्प त हुन सक्छ तर, नेपाल सरकारले प्रकृयागतरुपमा अनुमति दिईसकेको यो परियोजना रोक्न ठूलै कसरत आवश्यक हुन्छ । त्यो फरक पाटो हो । निर्माण हुने अवस्थामा यसलाई दुई कोणबाट हेर्न आवश्यक छ ।

सकारात्मक असरहरू
स्थानीय रोजगारी र आम्दानीको अवसर – निर्माण अवधिमा स्थानीय श्रमिकलाई रोजगारी मिल्न सक्छ ।
पूर्वाधार विकास – सुरुङ निर्माणसँगै सडक, पुल, बिजुली र सञ्चार सुविधा विस्तार हुने सम्भावना हुन्छ ।
बिजुली आपूर्ति – आयोजनाबाट उत्पन्न बिजुलीले राष्ट्रिय ग्रिडमा थप योगदान पु¥याउने, जसले देशव्यापी आपूर्ति सुधार्नेछ ।
व्यापार र सेवाको विस्तार – श्रमिक र प्राविधिकहरूको उपस्थितिले स्थानीय पसल, होटल, यातायात जस्ता सेवाको कारोबार बढाउन सक्छ ।
जोखिम र चुनौती
भू–स्खलन र पहिरोको जोखिम – लामो सुरुङ खन्ने क्रममा चट्टान काट्दा र भारी मेसिन प्रयोग गर्दा आसपासको भौगोलिक स्थिरता कमजोर पर्न सक्छ ।
जलस्रोतमा असर – सुरुङ खन्ने क्रममा भू–गर्भीय पानीको सतह तल झर्ने वा मुहान सुक्ने सम्भावना हुन्छ , जसले सिंचाइ र खानेपानीमा असर पार्न सक्छ ।
धुलो र ध्वनि प्रदूषण – ड्रिलिङ, ब्लास्टिङ र ढुवानीका कारण धुलो फैलिने, ठूलो आवाज हुने, जसले बस्ती, विद्यालय, स्वास्थ्यमा असर पार्न सक्छ ।
यातायात भीड र सडक बिग्रिने – भारी मेसिन र सामग्री ढुवानी गर्दा स्थानीय सडकमा चाप बढ्ने र मर्मत खर्च बढ्ने अवस्था हुन्छ ।
जैविक विविधतामा असर – वन क्षेत्र काट्नु परे वन्यजन्तु र वनस्पतिको वासस्थानमा असर पर्न सक्छ ।
न्यूनीकरणका उपाय
सुरुङ निर्माणअघि भू–प्राविधिक अध्ययन र पर्यावरणीय प्रभाव मूल्यांकन पुरा गर्नुपर्छ ।
पानीका मुहान संरक्षणका लागि सुरुङ मार्ग परिवर्तन वा जलस्रोत रिचार्ज गर्ने प्रविधि अपनाउनु आवश्यक छ ।
धुलो र आवाज नियन्त्रणका लागि आवश्यक पहल आवश्यक छ । आवाज कम गर्ने मेसिन प्रयोग गर्नु पर्दछ ।
सडक बिग्रिन नदिने र बिग्रिए मर्मत गर्ने सम्झौता गरिनु पर्छ ।
स्थानीय समुदायसँग नियमित संवाद गरेर गुनासा समाधान गर्नु पर्छ ।
सुरुङ्ग खन्ने क्रममा माथिल्लो भागमा रहेका जमिन थर्कदा घरहरु भत्कने चर्कने हुन्छ । त्यसको ग्यारेन्टी गर्नुपर्छ ।
रोजगारका लागि स्थानीयलाई पहिलो प्राथमिता हुनु पर्छ ।
स्थानीय प्रभावितलाई भिन्नै शेयरको व्यवस्था गरिनु पर्छ । जुन आइपिओ खोल्ने वेलामा स्थानीय प्रत्यक्ष प्रभावितलाई छु्टयाउनु पर्छ ।
सुरुवात चरणमा स्थानीय लगानीकर्ता वा प्रभावित क्षेत्रका मात्र लगानीकर्ता हुनुपर्छ ।






