नेकपा एमाले सिन्धुपाल्चोकको प्रतिनिधि परिषद बैठक सम्पन्न भएको छ । महासचिव शकर पोख्रेलले उद्घाटन गर्नु भएको बैठकले विभिन्न निर्णय गरेको छ । 

बैठकले जिल्लाभित्र आन्तरिक एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यसहित १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी गरेको छ । घोषणापत्रमा विपत्तिबाट क्षतिग्रस्त मेलम्ची–हेलम्बु, मेलम्ची–भोटे कोशी करिडोरलगायतका सडक तथा पुल तत्काल पुनर्निर्माण गर्नुपर्ने, कृषकलाई शोषणमुक्त बनाउन कानुनी व्यवस्था गर्नुपर्ने, महिला, दलित र उत्पीडित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्नुपर्ने लगायतका माग समावेश छन् ।

त्यस्तै घोषणापत्रमा युवालाई रोजगारीका अवसर सिर्जना गर्न उद्यमशीलता र सीपमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जिल्लाको जलविद्युत सम्भावनाबाट स्थानीय जनतालाई निःशुल्क विद्युत उपलब्ध गराउनुपर्ने माग गरिएको छ । मेलम्ची, यारी, लार्के जस्ता क्षेत्रमा करिडोर सडक निर्माण, स्थानीय उद्योग–व्यवसाय सञ्चालन, भौगोलिक कठिनाइ भएका बस्तीमा प्रशासनिक सेवा विस्तार र दीर्घकालीन विकासको आधारका रुपमा सुनकोशी–३ जलाशय आयोजना तत्काल निर्माण गर्नुपर्ने माग पनि घोषणापत्रमा गरिएको छ ।






