बाह्रबिसे ।

बाह्रबिसे नगरपालिकाले एक आर्थिक वर्षमा इन्धन शीर्षकमा पचास लाख १६ हजार ३ सय ९ रुपैयाँ खर्च भएको देखिएको छ । नगरपालिका बाट प्राप्त अभिलेख अनुसार पदाधिकारीका लागि इन्धन २४ लाख ९८ हजार ९ सय ८५ रुपैयाँ खर्च भएको छ । त्यस्तै कार्यालयका लागि इन्धन शीर्षकमा २५ लाख १७ हजार ३ सय २४ रुपैयाँ खर्च भएको छ ।
यो खर्चको अभिलेख राख्दा सवारी साधन सञ्चालन भएको स्थान,ईन्धन खपतको लगबुक,इन्धन खर्चको प्रयोजन लगायतका अभिलेख राख्नु पर्ने नियम हुन्छ । तर, यस्ता कुनै लेखाङ्कन कार्यालयमा छैन ।
कार्यालयको स्वामित्वमा डोजर,टिपर र हलुवा सवारी ३ र दुई पाँग्रे सवारी साधन १७ वटा रहेको छ । ती मध्ये पनि केही बिग्रिएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा इन्धनमा खर्च गर्नुपर्ने महालेखापरीक्षक तोयम राय बताउँछन् । तर, यो नगरपालिकाले सो अनुरूप काम नगरेको देखिन्छ ।






