मेलम्ची ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गणतन्त्रले ल्याएको उपलब्धिलाई खण्डन गर्ने र विकासका उपलब्धिलाई ओझेल पार्ने गलत भाष्य निर्माण भइरहेको भन्दै त्यसविरुद्ध सचेत रहन आग्रह गरेका छन् ।
मुख्यमन्त्री भएपछि पहिलोपटक सिन्धुपाल्चोकको मेलम्ची पुगेका मुख्यमन्त्री बानियाँले लोकतन्त्र स्थापना र गणतन्त्र संस्थागत गर्न सञ्चार जगतको ठूलो योगदान रहे पनि अहिले सामाजिक सञ्जालमार्फत यो व्यवस्थालाई बदनाम गर्न खोज्ने प्रवृत्ति मौलाएको बताए ।

‘तानाशाही र पञ्चायती शासन चाहने केही वर्गलाई जनताले गाउँगाउँमा पाएको सडक, पुल, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता प्रत्यक्ष सेवासुविधा देख्दा चित्त बुझ्दैन,’ उनले भने, ‘तर, यिनै सुविधाले गणतन्त्रको सार्थकता प्रमाणित गरेको छ ।’
सोही अवसरमा मेलम्ची नगरपालिकाले प्रदेश सरकारका मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङलाई विशेष स्वागत तथा सम्मान गरेको छ ।
नगरपालिकाले एसिया गोजुरियो कराते प्रतियोगितामा स्वर्ण जितेकी करीना पुरी, नेपाल आइडल सिजन–६ का फाइनलिस्ट कलाकार गंगा सोनाम तथा आठौँ हिरोज अन्तर्राष्ट्रिय टेक्वान्दो च्याम्पियनसिपमा रजत जितेका ११ वर्षे प्रतिभावान् खेलाडी शशांक तामाङलाई पनि बधाई र सम्मान अर्पण गरेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिए ।






