सिन्धुपाल्चोक ।
हेलम्बु गाउँपालिकाका दुग्ध उत्पादक किसानहरूले आठ महिनादेखि आफ्नो उत्पादनको भुक्तानी नपाएपछि गम्भीर आर्थिक संकट खेप्नुपरेको भन्दै नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटीले आपत्ति जनाएको छ ।

कमिटीका अनुसार जिल्लाभरका विभिन्न दुग्ध संकलन केन्द्रमार्फत दैनिक हजारौँ लिटर दूध बिक्री गर्ने किसानहरूले आठ महिनादेखि करिब एक करोड रुपैयाँभन्दा बढी रकम पाउन बाँकी छ । तर, किसानले उत्पादन गरेको दूधको रकम नपाउँदा दैनिकी कष्टकर बनेको विज्ञप्तिमा उल्लेख छ । “बालबालिका, अभिभावक र आम सर्वसाधारणले दैनिक घर खर्च टार्नसमेत कठिनाइ भोगिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
दूध संकलन गर्ने उद्योग र व्यवसायीले किसानलाई तत्काल बक्यौता भुक्तानी गर्नुपर्ने माग गर्दै एमालेले किसानका आवाजलाई बुलन्द बनाउने प्रतिवद्धता जनाएको छ । अध्यक्ष सरोज गजुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “किसानले उत्पादन गरेको परिश्रमको मूल्य समयमै प्राप्त नगर्दा उनीहरूको जीवन कष्टकर बन्दै गएको छ, यो अवस्था सह्य छैन।”
एमालेले किसानले भोगिरहेको अन्यायपूर्ण अवस्थाको तत्काल समाधान गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ । साथै, किसानलाई सम्पूर्ण बक्यौता रकम छिट्टै भुक्तानी गर्न जोडदार माग गरेको छ ।






