काठमाडौँ ।

भन्सार र राजस्व क्षेत्रमा वर्षौँदेखि उहीँ कर्मचारी जरा गाडेर बस्ने परम्परा अझै अन्त्य भएको छैन । हरेक सरकार, मन्त्री र प्रमुख बदलिँदा पनि केही प्रभावशाली कर्मचारी भने यथावत् बसिरहेका छन् । उनीहरू व्यवसायीलाई दबाब दिने, उठौती गर्ने र संरक्षण प्राप्त गर्ने काममा संलग्न रहेको आरोप पुनः चर्चामा आएको छ ।
त्यसैमा अहिले विवादको घेरामा परेका छन्, राजस्व अनुसन्धान विभागका निर्देशक नवराज अधिकारी । २०७९ साउन १७ गतेदेखि विभागमा मस्ती गरिरहेका अधिकारी यहाँ कार्यरत हुँदा ६ जना महानिर्देशक फेरिएका छन् । तर, उनलाई पनि कसैले पनि हटाउन सकेका छैनन् । बरु हरेक महानिर्देशकले उनलाई आफ्नै ‘विश्वासिलो पात्र’ बनाएर व्यवसायीसँग उठाउने रकममा परिचालन गरेको चर्चा छ । अहिलेका महानिर्देशकले पनि उनैलाई प्रयोग गर्न थालेको चर्चा छ ।
साविक गण्डकी अञ्चल घर भएका अधिकारी (कर्मचारी संकेत नम्बर २०५०९३) प्रारम्भमा जिल्ला अदालतमा डिठ्ठा भएर सरकारी सेवामा प्रवेश गरेका थिए । अर्थ मन्त्रालयमा प्रवेश गरेयता उनी कहिल्यै ‘कमजोर अड्डा’मा बस्नुपरेको छैन । त्रिभुवन विमानस्थल भन्सार, न्यूरोड आन्तरिक राजस्व, लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालयदेखि पश्चिमाञ्चल क्षेत्रीय राजस्व अनुसन्धानसम्म उनको नाम अकुत आर्जन गर्ने कर्मचारीको सूचीमा बारम्बार जोडिन्छ ।
राजधानीको कोटेश्वरमा करोडौँ मूल्यको बंगला खरिद गरेको चर्चा सार्वजनिक भएपछि अधिकारीको सम्पत्तिबारे प्रश्न झन् तीव्र बनेको छ । व्यवसायीहरूसँग मासिक रकम असुल्ने, पत्रकारलाई पाल्ने, भित्रि सूचना चुहाउनेदेखि प्रधानमन्त्री कार्यालयसम्म पैसा लैजानुपर्ने भन्दै धम्की दिने शैलीसमेत उनको कार्यशैलीसँग जोडिन्छ ।
हालै चर्चामा आएको भेप काण्ड मा मुद्धा खेपिरहेका शिल्क कम्पनीका मालिक रमेश शेर्पासँगको साँठगाँठसमेत अधिकारीमाथि लागेको अर्को गम्भीर आरोप हो । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘अधिकारीले सहसचिव चुडामणि शर्माकै शैलीमा अकुत सम्पत्ति आर्जन गरेका छन् ।’
राजस्व क्षेत्रमा चर्चा हुन्छ, ‘किन यस्ता कर्मचारीलाई वर्षौँ एउटै अड्डामा राखिन्छ ?’ तर, यस प्रश्नको जवाफ दिने निकाय भने मौन छ । यही मौनताले अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म ‘सम्बन्ध मिलेको’ शङ्का अझ बलियो बनाइरहेको छ । अधिकारी प्रधानमन्त्री कार्यालयका मान्छेदेखि अख्तियारसम्म मिलाउन पर्छ भन्दै व्यवासायीसँग असुल्ने काममा लागिरहेकोे पीडित व्यवसायीहरु पनि बताउँछन् ।
pic-singhadurbarnews.com






