काठमाडौँ ।

चौतारा साँगाचोक गढी नगरपालिकाले आफ्ना राजनीतिक कार्यकर्ता पाल्न कानुनविपरीत बजेट खर्च गरेको महालेखा प्रतिवेदनमार्फत खुलासा भएको छ । नगरपालिकाको नेतृत्व गरिरहेको माओवादी केन्द्रले नियमविपरीत रकम भुक्तानी गर्दै आर्थिक अनियमितता गरेको तथ्य सार्वजनिक भएको हो ।
प्रतिवेदनअनुसार माओवादी कार्यकर्ता गोपाल खड्कालाई सुकुटे माध्यमिक विद्यालयमा करारमा माध्यामिक तहको शिक्षक नियुक्ति गरिएको छ । तर उनी विद्यालयमा पढाउने काममा नगई सदरमुकाममै बसेर माओवादीको गतिविधि गर्ने गरेका छन् । सोही समयमा खड्काको स्थानमा अर्को शिक्षकलाई सट्टामा भर्ना गरिएको महालेखा परीक्षणले देखाएको छ ।
शिक्षा ऐन, २०४९ को दफा १९ मा सरकारले विद्यालय क्षेत्रमा स्रोत शिक्षक वा सट्टा शिक्षक राख्न नपाउने व्यवस्था गरेको भए पनि चौतारा नगरपालिकाले त्यसको उल्लङ्घन गरेको उल्लेख छ । यसरी दोहोरो नियुक्ति र सट्टा शिक्षक व्यवस्थापनलाई प्रतिवेदनमा आर्थिक अपराधको रूपमा चित्रण गरिएको छ ।
महालेखा परीक्षक तोयम रायका अनुसार यो गैरकानुनी खर्च असुल गर्नुपर्ने खालको भएकोले ६ लाख १९ हजार ९ सय ५७ रुपैयाँ असुल गर्न आदेश गरिएको छ ।
यस घटनाले स्थानीय तहमा राजनीतिक पक्षधरतालाई प्राथमिकता दिँदै शिक्षा क्षेत्रकै नाममा हुने अनियमितता बढ्दो क्रममै रहेको प्रमाण प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।






