काठमाडौँ ।
चौतारा आसपासका केही ब्यक्तिहरू एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । लामो समयसम्म नेकपा एमालेमा सक्रिय रहेका केही स्थानीय नेताहरू अब माओवादी प्रवेश गरेका हुन् । चौताराका इश्वरीप्रसाद श्रेष्ठ अर्का विष्णु लामालगायतले दल बदल्ने कुराले निकै चर्चा पायो ।

श्रीकृष्ण रत्नगंगा विद्यालयमा शिक्षकका रूपमा करिअर सुरु गरेका ईश्वरी श्रेष्ठ शिक्षणबाट अवकाशपछि एमालेभित्र झन् सक्रिय बने । पूर्वसांसद सुवास कर्माचार्यसँगै नेकपा (एस) मा समेत कृयाशील उनी पछि पुनः एमाले फर्किएर श्रीकृष्ण रत्नगंगा उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बने । त्यसपछि पाटी बदले । माओवादीको निरन्तर उक्सावट र कर्माचार्यको सहयोगमा फेरि समितिको अध्यक्ष बनेका थिए । जसमा माओवादीले आफ्नो दलको उम्मेदवार नउठाएर ईश्वरीलाई सहयोग गरेको थियो ।
अहिले भने उनी चौतारा साँगाचोकगढी–५ को वडाध्यक्षमा माओवादीको तर्फबाट उम्मेदवार हुने उधारो सहमतिमा माओवादी पुगेको चर्चा छ ।
त्यस्तै, विष्णु लामाले पनि दल बदले । उनी पटक पटक दल परिवर्तनका कारण चर्चामा छन् । राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका उनी एमाले, माले हुँदै माओवादी प्रवेश गरेका थिए । पछि फेरि एमाले फर्किएका लामा अहिले पुनः माओवादी प्रवेश गर्ने मुडमा पुगेका हुन् ।
दल परिवर्तनको यो क्रमप्रति स्थानीय बासिन्दाले चर्को व्यङ्ग्य गर्न थालेका छन् । एक नेताले फेसबुकमा लेखेका छन्, ‘माला लगाउने रहर’ मात्र पूरा गर्न नेताहरू पटक–पटक पार्टी फेर्दै हिँड्नु स्थानीय राजनीतिप्रति गम्भीर नहुने प्रमाण हो । विचार र सिद्धान्तभन्दा पद र अवसर प्राथमिक भएको स्थानीयको टिप्पणी छ ।
यस्ता व्यवहारले चौताराको राजनीति अस्थिर भएको र नेतामाथि विश्वास कमजोर बन्दै गएको जनप्रतिनिधि–प्रेमी नागरिकहरूको गुनासो छ ।






