काठमाडौँ ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनसँग दैनिक असुली गर्ने गरेको तथ्य बाहिर आएपछि पूर्वअरनिको यातायात समितिका अध्यक्ष केदार क्षत्री आफैँ त्यसकोविरुद्ध मैदान उत्रिएका छन् ।
क्षत्रीका अनुसार ब्लुबुक कभरमार्फत ट्राफिक प्रहरीलाई पैसा बुझाउन अनिवार्य गरिएको छ ।
विपी राजमार्ग हुँदै गुड्ने सवारी चालकहरूले प्रत्येक दिन २ सय रुपैयाँ बुझाउनुपर्ने नियमजस्तै बनाएपछि अध्यक्ष आफैँ मेदानमा उत्रेर त्यसको प्रत्यक्ष भिडिओ खिचेका छन् ।
अध्यक्ष क्षत्रीले भने ‘ट्राफिकले ब्लुबुकको कभर दिन्छ, त्यसभित्र पैसा हालेर फिर्ता गर्नुपर्छ ।’ विपी राजमार्ग हुँदै दैनिक झण्डै पाँच हजार सवारीसाधन आउजाउ गर्छन् ।
कोटेश्वर क्षेत्रमा व्यवस्थित बसपार्क नहुँदा सार्वजनिक सवारीसाधनलाई सडक छेउमै रोक्नुपर्ने बाध्यता छ । चालकहरूको गुनासो छ, ‘नरोके यात्रु पाइँदैन, रोक्ने ठाउँ छैन ।’ अरनिको यातायातले जडिबुटी क्षेत्रमा निजी लगानीमा बसपार्क निर्माण गरे पनि स्थान पर्याप्त देखिँदैन । त्यसमाथि उक्त बसपार्क गैरकानुनी तवरले बनाइएको आरोपमा काठमाडौं महानगरले पटकपटक भत्काउने प्रयास गर्दै आएको छ ।
क्षेत्रीले ट्राफिक प्रहरीले पैसा असुल्न प्रयोग गर्दै आएको ब्लुबुक कभर समेत सार्वजनिक गरे । चालकहरूको आरोप छ, ‘ट्राफिक प्रहरीलाई २ सय रुपैयाँ बुझाए मात्र गाडी रोक्न पाउने सुविधा मिल्छ । अन्यथा, बिहानै ट्राफिक जामको नाममा हजार रुपैयाँसम्मको चिट काट्ने गरिएको छ ।’






