लेखन र प्रकाशनमा चन्द्रप्रसाद न्यौपानेको फरक पहिचान छ । उनले पछिल्लो समय बाहिर ल्याएको ‘इतिहासमा सिन्धुपाल्चोक’ सिन्धुपाल्चोकको दृश्य देखिने पुस्तक सिन्धुपाल्चोक इतिहासको द्वार पनि हो ।
न्यौपानेको यस श्रमले सिन्धुपाल्चोक जिल्लाको अभिलेखीकरण मात्र गरेको छैन, यसले स्थानीय इतिहास लेखनको परम्परा निर्माण गरेको छ । व्यक्तिगत समर्पणले सम्भव भएको यस्तो पुस्तकले संस्थागत प्रयासलाई चुनौती दिएको छ ।

यो पुस्तक अध्ययन गर्दा जिल्लाको भूगोलदेखि राजनीति, साहित्यदेखि पत्रकारिता, शिक्षादेखि खेलकुद, संस्कृति र समाजदेखि व्यक्तित्वसम्म सबै खण्डलाई एकीकृत रूपमा प्रस्तुत गरिएको देखिन्छ । यसले जिल्लाको सामूहिक स्मृति निर्माणमा टेवा पुर्याएको छ ।
विशेष गरी, कुनै पालिका वा सरकारी निकायले करोडौँ खर्च गरेर तयार गर्ने खालको सामग्रीलाई व्यक्तिगत सङ्कल्पले सम्पन्न गर्नु स्वयंमा ऐतिहासिक काम हो । यसलाई सिन्धुपाल्चोक जिल्लाको ’ज्ञान–अभिलेखको कोश’ मान्न सकिन्छ ।
उनी अक्षर कम्पोज गर्नेदेखि कम्प्युटर किबोर्डमा खेल्ने कुशल शिल्पी पनि हुन् । न्यौपानेले २०५२ सालमा फुल्पिङकोट गाविसको चिनारी ‘फुल्पिङकोट एक परिचय’ लेखेका थिए । २०६० सालमा सिन्धुपाल्चोक जिल्लाको साहित्य, पत्रकारिता, कलाकारितालगायतका विषयमा ग्रन्थ प्रकाशन गरे । त्यो वाहेक उनको साहित्यिक पुस्तकका बारेमा चर्चा गर्न भिन्नै हजारौँ पानाहरु आवश्यक हुन्छ ।
जिल्लाको इतिहास थप पूर्ण पार्ने हुटहुटी उनमा भइरह्यो । जिल्लाको भूगोल, राजनीति, शैक्षिक, साहित्यिक, खेलकुद, कलाकारिता, जिल्लागत कीर्तिमानलगायत विषयको एउटै पुस्तक थिएन पनि । सो अभाव पूर्तिका लागि न्यौपानेले यो पुस्तक प्रकाशन गरे ।
पुस्तकमा जिल्लाको ऐतिहासिक पृष्ठभूमि, भौगोलिक परिचय ९ पर्यटकीय स्थल, जलस्रोत, जलविद्युत्, नदी, कुण्ड, ताल, पोखरी र छहरा०, संस्कृति (जनसङ्ख्या, भाषा, धर्म, जातजाति) को विवरण छ । यसै गरी स्वास्थ्य, व्यापार व्यवसाय, खाद्यान्न बाली, वन सम्पदा, खनिज÷प्रशोधन, यातायात, दैवी प्रकोप (२०२२–२०८१ असोजसम्मको संक्षिप्त विवरण ) , एनजिओ÷आईएनजीओ÷सहकारी, पालिकाहरूको परिचयजस्ता विषय समेटिएका छन् ।
सिन्धुसँग राजा महाराजहरू, प्रधानमन्त्रीहरू, जिल्ला प्रशासन, प्रशासनिक विभाजन, २०१४ सालअघिका ग्राम पञ्चायत र प्रधानपञ्चहरू, परिषद्हरूको इतिहास, काँग्रेसको इतिहास, कम्युनिस्टको इतिहास, नेकपा पुष्पलाल, नेकपा (चौम), नेकपा माले÷एमाले, नेकपा मसाल, नेकपा माओवादी, नेपाल मजदुर किसान पार्टी, बर्मा समूह, नयाँ शक्ति पार्टी, नेकपा विप्लव, नेपाल कम्युनिस्ट पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी आदिका विवरण ग्रन्थमा समेटिएका अन्य सामग्री हुन् ।
यसै गरी २०१५ देखि हालसम्मका सङ्घीय, प्रादेशिक सम्पूर्ण माननीयहरूको संक्षिप्त परिचय, जन वर्गीय सङ्गठन, गाउँ फर्क राष्ट्रिय अभियान, जिल्ला पञ्चायत÷जिल्ला विकास समिति÷जिल्ला समन्वय समिति, सभापतिहरूको संक्षिप्त परिचय, गाउँ पञ्चायत निर्वाचन, २०१८–२०४३ सम्मका सम्पूर्ण प्रधानपञ्चहरूका विवरण, गाउँ विकास समितिका अध्यक्षहरू, गाउँ÷नगरपालिकाका जनप्रतिनिधिहरू, जिल्लाका केही राजनीतिक घटना विवरण, राजनीति एवम् विविध क्षेत्रमा अग्रसर व्यक्ति–व्यक्तित्वका विषय पुस्तकमा समावेश छन् ।
शिक्षामा सिन्धुपाल्चोक, गुरुकुल, सिन्धुमा विद्यालयहरूको इतिहास, विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्था, विद्यालय विस्थापित हुनाका कारण, सिन्धुका क्याम्पसहरू, सिन्धुपाल्चोकबाट विद्यावारिधि गर्नेहरूको विवरण, शिक्षक संघसंगठनहरूको इतिहास, जिल्लामा पुस्तकालयको इतिहास ग्रन्थका अन्य अध्ययनका विषय हुन् ।
यसका साथै ग्रन्थमा जिल्लाको खेलकुद इतिहास, दुई सयभन्दा बढी साहित्यकारहरूको परिचय, साहित्यिक–सांस्कृतिक सङ्घसंस्था, केही सांस्कृतिक घटनाक्रम, प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, महत्त्वपूर्ण एवम् ऐतिहासिक कार्यक्रमको विवरण उल्लेख छ भने सयभन्दा बढी पत्रकारको परिचय समावेश छ ।
कला क्षेत्रका केही प्रतिभा, कलाकारहरूको नाम सूची, विविध क्षेत्रका १ सय जनाभन्दा बढी जिल्लागत कीर्तिमानी महानुभावहरूको संक्षिप्त विवरण, केही पुरातात्त्विक तस्बिरहरूलगायतका विषयमा संक्षिप्त विवरण प्रस्तुत गरिएको छ । ग्रन्थमा २ हजार ८ सयभन्दा बढी सिन्धुपाल्चोकहरूको नाम समावेश भएको छ ।
ग्रन्थ तयारीका लागि उनले जिल्लाका सबै वडा र टोल टोलमा पुगेर सामग्री सङ्कलन गरेका छन् । पालिकाहरूले १० औँ लाख खर्च गरेर तयार पार्नुपर्ने ग्रन्थ एक्लो प्रयासमा तयार पारेको भन्न सकिन्छ ।






