चौतारा ।

संविधान दिवस २०८२ को अवसरमा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको विचार गोष्ठीमा सहभागी वक्ताहरूले नेपालको संविधानको संरक्षण सबैको साझा दायित्व भएकोमा जोड दिएका छन् । ‘नेपालको संविधान, वर्तमान राजनीति र अवको गन्तव्य’ शीर्षकमा चौतारामा सम्पन्न कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, कानूनविद्, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हालै देखिएका जेनजी आन्दोलनका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताउँदै अनावश्यक देवत्वकरण र दानवीकरण दुवै घातक हुने धारणा राखे ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इञ्चार्ज सरेश नेपालले मुलुकलाई प्रतिगमनबाट जोगाउँदै परिवर्तनको गति सुनिश्चित गर्न दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राखे । राख्नुभयो ।
कार्यक्रममा एमाले सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुली र नेपाली कांग्रेसका जिल्ला सचिव विलबहादुर तामाङले संविधानको संरक्षणमा कुनै सम्झौता हुन नहुने बताए । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संविधानको रक्षाका लागि सही विचार र दृष्टिकोणको आवश्यकता औंल्याए ।
कार्यक्रममा अधिवक्ता शशीनाथ आचार्यले नेपालको संविधानको विशेषता र यसले सामना गरिरहेका चुनौतीहरूबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाल वार एसोसिएसन सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थिङले वर्तमान सरकार निर्माण प्रक्रिया र प्रतिनिधिसभा विघटनको घटनालाई संविधानको मर्म विपरित रहेको बताए ।
सञ्चारकर्मी यज्ञ दंगालले पुस्तान्तरण अपरिहार्य भए पनि नयाँ पुस्ताले अध्ययन, प्रतिबद्धता र परिपक्वता प्रदर्शन गर्न आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा संविधानको संरक्षण, परिमार्जन र समावेशी विकासको बाटोमा सँगै हिँड्न सबै राजनीतिक शक्ति, नागरिक समाज र बौद्धिक समुदायको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।






