सिन्धुपाल्चोक ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भूभागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा शुक्रबार बसेको संयुक्त बैठकले विभिन्न तयारी र व्यवस्थापन सम्बन्धी निर्णय गरेको छ।
बैठकले सम्भावित विपद् न्यूनीकरण तथा राहत–उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संघ–संस्था, उद्योग–व्यापार संघ, रेडक्रस, मानवीय सेवा संस्था लगायत सरोकारवाला निकायबीच सहकार्य र समन्वयलाई बलियो बनाउने निष्कर्ष निकालेको छ।
निर्णयअनुसार असोज १७ देखि २० गतेसम्म जिल्लाभर उच्च सतर्कता कायम रहनेछ। यस अवधिमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रशासनिक अधिकृत र सुरक्षा निकायका प्रमुखहरू बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म निरन्तर खटिने व्यवस्था मिलाइएको छ। साथै जोखिमपूर्ण बस्ती तथा क्षेत्रमा स्थानीय प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले विशेष गस्ती गर्नेछन्।
यस्तै, जिल्लामा आकस्मिक स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्था, अस्पताल तथा एम्बुलेन्स सेवा निरन्तर सक्रिय राखिने निर्णय भएको छ। सम्भावित बाढी, पहिरो वा डुबानबाट प्रभावित हुन सक्ने क्षेत्रमा अग्रिम तयारीसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ।

नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ, मानवीय सेवा संस्था लगायतका संघसंस्थाले आफ्ना स्वयंसेवक परिचालन गरी सम्भावित उद्धार र राहत कार्यमा समन्वय गर्नेछन्। विशेष गरी जोखिमयुक्त बस्तीका स्थानीयवासीलाई सतर्क रहन तथा आवश्य परे सुरक्षित स्थलतर्फ सर्ने व्यवस्था मिलाइनेछ।
त्यसैगरी, सडक तथा यातायात अवरुद्ध भएमा तत्काल वैकल्पिक उपाय खोज्ने र राहत तथा उद्धार सामग्री ढुवानीमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले आवश्यक सवारीसाधन तयारी अवस्थामा राखिने बैठकले निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकायका प्रतिनिधिहरू उपस्थित उक्त बैठकमा विपद् व्यवस्थापनका लागि एकीकृत कमाण्ड प्रणाली अन्तर्गत सबै पक्षलाई सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।






