सिरहा/जनकपुर : मधेश प्रदेशका दुई प्रमुख सहर सिरहाको गोलबजार र धनुषाको जनकपुर तनावग्रस्त बनेका छन् । गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएपछि अवस्था थप जटिल बनेको छ भने जनकपुरमा पनि सुरक्षा सतर्कता बढाउँदै कर्फ्यु जारी गरिएको छ ।
गोलबजारमा मृत्यु हुनेमा मिर्चैया नगरपालिका–तुलसीपुरका करिब १८–१९ वर्षीय गणेश यादव रहेको बताइएको छ। प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको दाबी गरेका छन् । तर प्रहरीले भने आफूहरूले गोली नचलाएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
युवकको मृत्युपछि आक्रोशित प्रदर्शनकारीहरूले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन नदिएको स्थानीय स्रोतले जनाएको छ। घटनास्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा अर्का एक जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ ।
यता, जनकपुरमा पनि बढ्दो तनावलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु जारी राखेको छ। मधेशका विभिन्न स्थानमा विकसित घटनाक्रमले सुरक्षा चुनौती बढेपछि प्रशासन उच्च सतर्कतामा रहेको जनाएको छ ।
गोलबजारमा युवकको मृत्यु र जनकपुरसहित विभिन्न क्षेत्रमा जारी कर्फ्युका कारण मधेश प्रदेशको सुरक्षा अवस्था यतिबेला सबैको चासोको विषय बनेको छ । गोली कसले चलायो र युवकको मृत्यु कसरी भयो भन्ने विषयमा स्पष्ट तथ्य बाहिर आउन बाँकी छ ।







