सिन्धुपाल्चोक : इन्द्रावती गाउँपालिकाको सेवा प्रवाह, कर्मचारीको कार्यशैली तथा विकास निर्माणका कामप्रति स्थानीयवासीको असन्तुष्टि बढ्दै गएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र सार्वजनिक रूपमा गाउँपालिकाको कामकारबाहीबारे प्रश्न उठ्न थालेका छन् ।
स्थानीयवासीका अनुसार विभिन्न शाखाबाट सेवा लिन जाँदा ढिलासुस्ती हुने, सेवाग्राहीप्रति व्यवहार सन्तोषजनक नहुने तथा विकास निर्माणका कामको प्रभावकारी अनुगमन नहुने गुनासो बढेको छ । हालै एक स्थानीयले सामाजिक सञ्जालमार्फत गाउँपालिकाअन्तर्गत निर्माण गरिएको सडक कालोपत्रे काम सम्पन्न भएको केही समयमै भासिएको र उप्किएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
नागरिकहरूले गाउँपालिकाले कर्मचारीहरूको जिम्मेवारी, कार्यसम्पादन र व्यवहारको निष्पक्ष मूल्याङ्कन गरी आवश्यक सुधारका कदम चाल्नुपर्ने माग गरेका छन् । आवश्यकता अनुसार कर्मचारी हेरफेर तथा जिम्मेवारी परिवर्तन गरेर सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीय तहप्रति जनविश्वास कायम राख्न सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र जवाफदेही बनाउन गाउँपालिका नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने आवाज उठ्न थालेको छ ।







