रसुवा । रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–४, बेरिङ खोल्सामा आएको आकस्मिक बाढीले चार जना मानिसलाई बगाएको छ।

भक्तपुरबाट काठमाडौँ हुँदै १६ जनाको समूह लाङटाङ भ्रमणमा आएकोमध्ये चार जना सोमबार साँझ करिब ६ बजे खोल्सामा बगेर बेपत्ता भएका हुन्। बाढीले बेपत्ता बनाएकामध्ये २० देखि २५ वर्ष उमेर समूहका भक्तपुर ठिमी निवासी सकृती श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ, र भक्तपुर नगरपालिका–१० निवासी रवि श्रेष्ठ (२३ वर्ष) रहेका छन्।
घटनाबारे घुम्न आएका रोज कर्माचार्य (९८६४६७२८६८) ले जिल्ला प्रहरी कार्यालय रसुवामा जानकारी गराएका थिए। जानकारी पाएलगत्तै प्रहरी चौकी लाङटाङबाट प्रहरी निरीक्षक सुरथ गिरीको नेतृत्वमा दुई जना प्रहरी, नेपाली सेनाको लाङटाङ बेस क्याम्पबाट जमदार धिरबहादुर भुजेलको नेतृत्वमा छ जना, प्रहरी चौकी स्याफ्रुवेशीबाट प्रहरी निरीक्षक अनिलकुमार शाहको नेतृत्वमा चार जना र स्याफ्रुवेशी क्याम्पबाट सहायक सेनानी प्रेमसिं धामीको नेतृत्वमा १० जना गरी जम्मा २२ जनाको संयुक्त उद्धार टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
उक्त स्थान प्रहरी चौकी लाङटाङबाट करिब ६ घण्टा पैदल उत्तरतर्फ र स्याफ्रुवेशीबाट करिब ६ घण्टा पैदल पूर्वतर्फ पर्ने दुर्गम क्षेत्र हो। सवारी साधन पुग्ने व्यवस्था नभएकाले उद्धार कार्यमा कठिनाइ भएको बताइएको छ।
लगातारको वर्षाका कारण लाङटाङ क्षेत्रका खोल्सामा पानीको बहाव असामान्य रूपमा बढेको र थप जोखिम रहन सक्ने प्रहरीको भनाइ छ।






