रोशी खोलाले गत वर्ष बनाएको अस्थायी डाइभर्सन बगाएपछि बिपी राजमार्ग पूर्णरूपमा बन्द छ।

सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादका अनुसार बिपी राजमार्ग कम्तीमा पाँच दिन सञ्चालनमा आउने छैन।
‘अहिले त रोशी खोलामा बहाव नै घटेको छैन। खोलाको बहाव घटेपछि बल्ल डाइभर्सन बनाउन सुरू गर्छौं। अस्थायी डाइभर्सन बनाउन पनि कम्तीमा पाँच–छ दिन लाग्ने देखिएको छ,’ उनले भने।
अहिले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म पूर्णरूपमा अवरूद्ध छ। भकुण्डेयता धुलिखेलसम्म पनि केही स्थानमा सडक भासिएको छ भने पहिरो पनि खसेको छ।
दुर्गा प्रसादका अनुसार बिपी राजमार्गको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म ३५०० मिटर बढी खण्ड रोशीले बगाएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म आएको भीषण वर्षाका कारण रोशी खोलामा आएको भेलबाढीले करिब १३ किलोमिटर सडक कटान गरेको थियो।
कटान गरिएकामध्ये सडक डिभिजन भक्तपुरले करिब ५ किलोमिटर खण्डमा अस्थायी ट्र्याक खोलेको थियो। उक्त सडक खण्डमध्ये कतिपय खोलाको किनारबाटै खोलिएको थियो।






