काठमाडौं ।

निर्वाचन आयोग, नेपालले आउँदो फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विस्तृत कार्यतालिका स्वीकृत गरेको छ। आयोगका अनुसार आज बसेको बैठकले निर्वाचनसम्बन्धी तयारी र व्यवस्थापनलाई समयमै अघि बढाउन स्वीकृत कार्यतालिका पारित गरेको हो।
स्वीकृत कार्यतालिकाअनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारका गतिविधि रहनेछन्। पहिलो चरणको निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार र खर्चसम्बन्धी गतिविधि सञ्चालन हुने जनाइएको छ।
त्यस्तै, फागुन २१ गते मतदान सम्पन्न गरी चैत ९ गतेभित्र मतगणना र नतिजा सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ। माघ १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र फागुन १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यतालिका आयोगले तय गरेको छ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार राजनीतिक दल, उम्मेदवार र सरोकारवालाहरूबीच सहकार्य गर्दै आयोगले स्वीकृत कार्यतालिकाअनुसार सबै तयारी अघि बढाउनेछ।
निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरूको दर्ता प्रक्रिया पनि सोही अवधिमा हुने जनाइएको छ। आयोगले मिति २०८२ असोज ३० भित्र सबै राजनीतिक दलले आफ्नो अद्यावधिक प्रमाणपत्र आयोगमा पेश गर्न निर्देशन दिएको छ।






