काठमाडौँ ।
जेनजी मुभमेण्ट एलायन्स ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै पत्र पठाएको छ।

गत असोज १९ गते सोमबार आयोगका प्रमुख राईलाई सम्बोधन गरी पठाइएको उक्त पत्रमा राईमाथि लागेका घूसकाण्ड र दुराचारसम्बन्धी गम्भीर प्रश्नहरू उठाइएको छ। पत्रमा भनिएको छ, “अख्तियारजस्तो संवैधानिक निकायमा नेतृत्व गर्ने व्यक्तिमाथि नै घूस र दुरुपयोगका गम्भीर आरोप लाग्नु लोकतन्त्र र सुशासनका दृष्टिले अत्यन्तै आपत्तिजनक हो।”
उनीहरूले अख्तियार प्रमुखले आफ्नो पदमा रहँदा निष्पक्ष अनुसन्धानमा अवरोध पुर्याएको र उच्च नैतिक जिम्मेवारी वहन गर्न असफल भएको आरोप लगाइएको छ। संगठनले राईले तत्काल पदबाट राजीनामा दिई कानुनी अनुसन्धानमा सहयोग गर्नुपर्ने माग गरेका छन् ।
पत्रमा भनिएको छ, “७५ लाख नेपाली नागरिकको करबाट सञ्चालित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वमा बस्ने व्यक्ति नै विवादमा पर्नु संस्थाको विश्वसनीयतामाथि नै प्रहार हो।”
संगठनले ३२ जिल्लाका प्रतिनिधिहरूको हस्ताक्षरसहित उक्त माग पत्र पेश गरेको जनाएको छ। साथै, सरकारले दुरुपयोग, घूसकाण्ड र सार्वजनिक पदधारणमा देखिएका अनियमितता नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने माग समेत गरिएको छ।






