काठमाडौँ ।

भाद्र २३ र २४ गते काठमाडौं लगायत देशका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको अध्ययन तथा प्रतिवेदन तयार गर्न गठन गरिएको छानबिन आयोगले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका सम्बन्धित निकायले तुरुन्तै अनुसन्धान र कारबाही गर्नुपर्ने आयोगको मत रहेको जनाएको छ ।
आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिअनुसार आयोगले घटनासम्बन्धी जानकारी, प्रमाण र निवेदन संकलन गरी विश्लेषण गर्ने कार्य अघि बढाएको छ ।
आयोग ऐन, २०२६ को दफा ३ अनुसार गठित उक्त आयोगले असोज १ गतेदेखि औपचारिकरूपमा कार्य प्रारम्भ गरेको जनाएको छ ।
आयोगले सरकारलाई घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन र दोषीमाथि कारबाही गर्न गृह मन्त्रालयमार्फत असोज ९ गते जारी विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएको छ । साथै, फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका सम्बन्धित निकायले तुरुन्तै अनुसन्धान र कारबाही गर्नुपर्ने आयोगको मत रहेको विज्ञप्तिमा उल्लेख छ ।






