सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडकखण्डमा मंगलबार साँझ एक यात्रुवाहक बस दुर्घटना हुँदा तीन बालबालिकासहित २० जना घाइते भएका छन्।
रामेछापबाट चरिकोट हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २५२१ नम्बरको बस साँझ करिब ४ः२५ बजे अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
दुर्घटनाको सूचना पाएपछि प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक अशोक महतोको नेतृत्वमा सात जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडिचौर पठाएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ।






