सिन्धुपाल्चोक ।

भोटेकोशी जलविद्युत आयोजनाका सेयरबारे प्रकाशित समाचार ‘भ्रमपूर्ण’ भएको पाइएको छ । भोटेकोशी पावर कम्पनी प्रा.लि. र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले पनि निशुल्क शेयर नभएको जनाएका छन् ।
केही सञ्चार माध्यमहरूले भोटेकोशीका स्थानीय बासिन्दालाई निःशुल्क सेयर दिने सहमति भएको भन्दै समाचार प्रकाशित गरेपछि कम्पनीहरूले विज्ञप्ति जारी गरी त्यस्तो कुनै सहमति नभएको बताएका हुन् ।
कम्पनीका अनुसार, दुवै पक्षबीच भएको समझदारीअनुसार भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड ले भोटेकोशी कम्पनीको १० प्रतिशत सेयर प्रति सेयर अंकित मूल्य सय रुपैयाँका दरले खरिद गर्नेछ ।

उक्त सेयर खरिदका लागि चाहिने रकम भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडले बैंकबाट ऋणस्वरूप लिने र त्यस ऋणको जमानतको व्यवस्था भोटेकोशीले गर्ने सहमति भएको मात्र हो ।
निर्माण सम्पन्न भई उत्पादनमा आएको आयोजनाबाट हरेक वर्ष वितरण हुने लाभांशबाट उक्त पब्लिक लिमिटेड कम्पनीले ऋण र ब्याज तिर्ने व्यवस्था मिलाइएको हो ।
यो प्रक्रिया स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने किसिमले अघि बढाइएको मात्र हो । तर यसलाई निःशुल्क सेयर दिने सहमति भनेर बुझ्नु गलत हो ।






