काठमाडौं ।
प्रहरी स्रोतका अनुसार पासाङ शेर्पामाथि हाल चारवटा मुद्दा छन् । बहुविवाह, मानव तस्करी, चेक बाउन्स र ठगी। तीमध्ये बहुविवाहको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै कैद सजाय सुनाइसकेको छ।

शेर्पाकी जेठी श्रीमती करिश्मा खरेलले शेर्पा र अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन्। २०७९ चैत २३ गते अदालतले फैसला गर्दै भनेको थियो,
“पासाङ शेर्पाले करिश्मा खरेलसँगको दाम्पत्य सम्बन्ध कायम रहँदै पूजा परियारसँग पुनः विवाह गरेका छन्। यसरी उनले मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बर बमोजिमको कसुर गरेका छन्।”
अदालतले उनलाई १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।
उच्च अदालत पाटनले २०८१ असोज ६ गते जिल्ला अदालतकै फैसला सदर गरिदियो। यद्यपि, शेर्पाले अझै सजाय भुक्तान गरेका छैनन्।
पूर्व आदिवासी जनजाति महासंघका अध्यक्षसमेत रहेका पासाङ शेर्पा एमालेबाट संविधानसभा सदस्य बनेका थिए। पछि उनले तत्कालीन उपाध्यक्ष अशोक राईलाई पार्टीविरुद्ध विद्रोह गर्न उक्साएको आरोप लाग्यो। त्यसपछि उनले सामाजिक लोकतान्त्रिक पार्टी गठन गरी डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा प्रवेश गरे।
त्यही अवधिमा उनीमाथि मानव तस्करीको आरोप लागेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनीमाथि १३ जना व्यक्तिलाई “सांस्कृतिक आदान–प्रदान कार्यक्रम”को नाममा मेक्सिको पु¥याएर छोडेको अभियोगमा अनुसन्धान थालेको थियो। ती १३ मध्ये शेर्पा र उनका सहयोगी डन्डु मात्रै नेपाल फर्किएका थिए।
त्यसैगरी, एक वर्षअघि अमेरिका पठाइदिने भन्दै ४ करोड रुपैयाँ ठगी गरेको उजुरी पनि काठमाडौं प्रहरी परिसरमा दर्ता भएको थियो । तर, अनुसन्धान हुँदै छ ।






