पूर्व प्रतिनिधि सभा सदस्य माधव सापकोटाले पत्रकार सम्मेलन गर्दै नेपालको समसामयिक राजनीतिक अवस्था, ‘जनरेशन–जेड आन्दोलन’ र देशको भविष्यबारे आफ्नो धारणा सार्वजनिक गरे ।

सापकोटाले सुशीला कार्की नेतृत्वको सरकारलाई उकालीमा ब्रेक फेल भएको गाडीलाई पछाडि सरन नदिन ओत हालेको जस्तो अवस्थामा रहेको टिप्पणी गरे । अहिलेको राजनीतिक संकट समाधानका लागि सबै दलहरूले आफ्नो नीति, संरचना र सहकार्यमा सुधार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, “देशलाई स्थायित्व र निकास दिन अब राजनीतिक नेतृत्व नै जिम्मेवार हुनुपर्छ ।”
उनले भने प्रमुख राजनीतिक दलहरूले परिवर्तनको मार्गमा अग्रसर नहुँदा देश फेरि अर्को राजनीतिक दुष्चक्रमा फस्ने खतरा छ । जनताले स्थायित्व र विकासको अपेक्षा गरेको भए पनि दलहरूले पर्याप्त उत्तरदायित्व लिन नसकेको सापकोटाको भनाइ छ ।
सापकोटाले राजनीतिक जीवनमा प्रवेश सजिलो भए पनि विचार र नैतिकता अनुसार स्थायित्व कायम राख्न कठिन रहेको टिप्पणी गर्दै भने, “नेपालमा राजनीतिक प्रवेश सजिलो भए पनि राजनैतिक बिदाईको निश्चित व्यवस्था नहुँदा नयाँ नेतृत्व आउन सकिरहेको छैन ।”






