खाडीचौर ।

जेनजी आन्दोलनका घटनाले देशभरका राजनीतिक शक्ति–समिकरणलाई झस्काएको छ । भदौ २३ र २४ मा भएका तीव्र प्रदर्शन, हिंसात्मक घटना तथा राज्य संरचनामाथिको आक्रमणले केन्द्रदेखि गाउँ–घरसम्मका राजनीतिक दलहरूलाई फेरि आत्मपरीक्षण गर्न बाध्य बनायो । धेरै भौतिक संरचना ध्वस्त भए, राष्ट्रिय नेता तथा तिनका परिवारमाथि आक्रमण भए, र शासन परिवर्तनसम्मको वातावरण सिर्जना भयो । यही परिदृश्यले सिन्धुपाल्चोक पनि अछुतो रहेन । यहाँको त्रिपक्षीय राजनीतिक उपस्थितिमध्ये—नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र—तीनै दल आन्दोलनको प्रत्यक्ष–अप्रत्यक्ष दवावमा परे ।
यद्यपि आन्दोलनको प्रभाव सबै दलले भोगे पनि त्यसले सिर्जना गरेको रिक्तता र अस्थिरतालाई अवसरको रूपमा उपयोग गर्ने रणनीतिमा सबै समान छैनन् । यही सन्दर्भमा सिन्धु एमाले तुलनात्मक रूपमा छिटो संगठित हुँदै सार्वजनिक उपस्थितिमा फर्किएको देखिन्छ । आन्दोलनले कतै ‘राजनीतिक दल दुला पस्ने’ अवस्था बनाएको चित्रण भइरहेको बेला, एमालेले खाडीचौरमा आयोजना गरेको भब्य जागरण कार्यक्रम त्यसको प्रत्यक्ष प्रत्युत्तरका रूपमा बुझिन्छ ।
जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार कार्यक्रमको मूल उद्देश्य सरकारको विफलता उजागर गर्नु र एमालेको संगठनात्मक गतिलाई पुनः सक्रिय पार्नु थियो । साथै, प्रतिक्रियावादी शक्तिहरूले एमालेमाथि गरेको आक्रमणको प्रतिवाद स्वरूप दलले सडकबाटै सन्देश दिने प्रयास गरेको एमाले जिल्ला इन्चार्ज सरेश नेपाल बताउँछन् । उनीहरूको अभिव्यक्तिमा आन्दोलनपछिको अस्थिरतामा एमाले मात्र ‘मैदानमा उभिएको दल’ हो भन्ने धारणा निर्माण गर्ने स्पष्ट रणनीति छ ।
अर्कोतर्फ, केहीले यो भेलामा जनसामान्यको उपस्थिति कमजोर भएको टिप्पणी गरे पनि, एमाले नेताहरूले यस पटक ‘अगुवा वर्ग’ सम्मिलित गरेर संगठनात्मक पुनर्संयोजनमै जोड दिएको स्पष्ट गर्छन् । निर्वाचन नजिकिँदै जाँदा स्थानीय संरचना, र कार्यकर्ता सञ्जाललाई परिचालन गर्ने पूर्वतयारीका रूपमा यो कार्यक्रम उपयोगी बनेको देखिन्छ ।
पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तमाङ्ग र पोलिटब्यूरो सदस्य अरुण नेपालको अभिव्यक्तिले पनि यही तथ्य पुष्टि गर्छ । उनीहरुका अनुसार यस्तो संवेदनशील समयमा एमाले सडकमा सक्रिय हुनु नै मुल सन्देश हो । अरुण नेपालले भनेझैँ, नीति, नेतृत्व र संगठनात्मक एकता मजबुत भएमा एमालेलाई कुनै पनि आरोप–प्रत्यारोपले कमजोर पार्न नसक्ने पार्टीको आन्तरिक आत्मविश्वास झल्किन्छ ।
जेनजी आन्दोलनले सिन्धुपाल्चोकमा राजनीतिक रिक्तताको स्थिति बनाएको अवस्थामा एमालेले उठाएको कदम रणनीतिक, प्रतीकात्मक र मनोवैज्ञानिक तीनै हिसाबले महत्वपूर्ण छ । अन्य दलहरू अझै घटनापछि पुनर्संयोजनको प्रयासमा सीमित छन् भने, एमालेले सडक उपस्थिति, राजनीतिक धारणा निर्माण र कार्यकर्ता मनोबल पुनर्जीवनमार्फत आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको स्पष्ट देखिन्छ ।







