सिन्धुपाल्चोक ।

राष्ट्रिय सभाका लागि सिन्धुपाल्चोकबाट वेदबहादुर श्रेष्ठको नाम सिफारिस गरिएको छ। उनीसँगै नेपाली कांग्रेसका पुराना नेता भोला बोहोरा पनि सिफारिस सूचीमा परेका छन्। बोहोरा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय व्यक्तित्व मानिन्छन्।
वेदबहादुर श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार सभापति हुन्। उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ जिल्ला राजनीतिमा स्थापित उद्योगी तथा कांग्रेसका सक्रिय नेताका रूपमा परिचित छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ तीन जना, समानुपातिकतर्फ दुई जना र राष्ट्रिय सभाका लागि तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। सोही अनुसार क्षेत्र नं. १ ले श्रेष्ठ र बोहोरा सहितको नाम सिफारिस गरेको हो।
निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा र माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन मिती तोकेको छ। २०७६ सालको निर्वाचनमार्फत निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ। १९ मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद भएकाले बाँकी १८ पदका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।






