दोलखाका बालकृष्ण शिवाकोटी नेकपा एमालेको केन्द्रीय सदस्य बन्ने तयारीमा हुनुहुन्छ। राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै उहाँको योगदानका आधारमा अब पार्टीमा केन्द्रीय सदस्य योग्य भएको चर्चा हुन थालेको छ।

शिवाकोटी १२ वर्षसम्म नेकपा एमाले दोलखाको सचिवालय सदस्यका रूपमा पार्टी सञ्चालन र विकासका काममा संलग्न रहनुभएको थियो। जनहितमा क्रियाशील रहँदा, उहाँ २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनका लागि दोलखाबाट सबैभन्दा बढी मत ल्याएर प्रतिनिधि निर्वाचित हुन सफल हुनुभयो।
उहाँ हाल बागमती प्रदेश कमिटी सचिवालय सदस्य, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्जको रूपमा काम गर्दै आउनुभएको छ। पहिले उहाँ केन्द्रीय उद्योग तथा व्यवसायी महासंघको महासचिव पनि रहिसक्नुभएको छ।
शिवाकोटी सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्यका रूपमा तथा थुप्रै संघ–संस्थामा नेतृत्वकारी भूमिकामा रहँदै उहाँले समुदायको विकासमा योगदान पुर्याउनुभएको छ। नेपाल सरकार लगानी बोर्डमा तीन कार्यकाल सदस्य र मेगा बैंकको सञ्चालक समिति सदस्यको रूपमा उहाँले राष्ट्रिय पुँजीको विकास, वैदेशिक लगानी भित्र्याउने र लगानीमैत्री वातावरण सिर्जना गर्ने कार्यमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ।
साथै, राष्ट्रिय विपद्का बेला राहत र उद्दारका कार्यमा अग्रपंक्तिमा रहेर समाजसेवामा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ। कालिञ्चोकको कठिन भूगोललाई सहज यात्रामा रूपान्तरण गर्दै उहाँले स्थानीय समुदायको आर्थिक र सामाजिक जीवनमा नयाँ दिशा दिनुभएको छ।
शिवाकोटीको यात्रा स्पष्ट रूपमा देखाउँछ कि व्यक्तिगत संकल्प र नेतृत्वले स्थानीय र राष्ट्रिय स्तरमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। उहाँले पर्यटन, रोजगारी, व्यापार र विकासमा असम्भव देखिएका कार्यलाई सम्भावनाको बाटोमा परिणत गरी कालिञ्चोकलाई राष्ट्रिय स्तरको आकर्षणमा उभ्याउनुभएको छ ।






