सिन्धुपाल्चोक । नेकपा (एमाले) सिन्धुपाल्चोकको राजनीतिमा हस्त पण्डित एक अनुभवी, संघर्षशील र संगठनप्रति निष्ठावान नेताका रूपमा चिनिनुहुन्छ। चार दशकभन्दा लामो राजनीतिक यात्रामा उहाँ निरन्तर संगठनमै टिकिरहनु भएको र कहिल्यै अवसरवादी बाटो नअपनाएको नेताका रूपमा परिचित हुनुहुन्छ।

वि.सं. २०४० सालदेखि अनेरास्ववियु हुँदै सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका पण्डित गाउँ–टोलदेखि केन्द्रसम्म पार्टी संगठनका विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। संगठन निर्माण, विस्तार र कार्यकर्ता व्यवस्थापनमा उहाँको भूमिका प्रभावकारी रहँदै आएको नेताहरू बताउँछन्।
पण्डितले जिल्ला अध्यक्ष, राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिव, बागमती प्रदेश कमिटी सदस्य तथा स्कुल विभाग प्रमुखजस्ता महत्वपूर्ण जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्नुभएको छ। यी जिम्मेवारीहरू उहाँप्रति पार्टीको भरोसा र विश्वासको प्रतिबिम्बका रूपमा लिइएको छ।
आजको राजनीति सामाजिक सञ्जाल र भाषणमा सीमित हुँदै गएको अवस्थामा हस्त पण्डित भने जनताको बीचमै बसेर काम गर्ने, कार्यकर्ताको समस्या बुझ्ने र संगठनलाई एकताबद्ध राख्न सक्रिय रहँदै आउनुभएको छ। राजनीति पदको लोभका लागि होइन, समाज रूपान्तरणको माध्यम हो भन्ने सोच उहाँको व्यवहारमै देखिने कार्यकर्ताहरूको भनाइ छ।
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा हस्त पण्डित केन्द्रीय सदस्यमा निर्वाचित हुनु संगठनका लागि अनुभव, स्थायित्व र भविष्यप्रतिको भरोसाको निर्णय हुने विश्लेषण गरिएको छ। संगठनलाई अझ मजबुत, अनुशासित र जनमुखी बनाउन उहाँजस्तो नेतृत्व केन्द्रमा आवश्यक रहेको नेताहरूको धारणा छ।






