काठमाडौँ ।
दोहोरो अश्लील अडियो प्रकरणपछि लामो समयदेखि विवादमा तानिएका एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलाई पदमुक्त गर्न माग गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखित निवेदन पेस गरिएको छ।

केन्द्रीय कमिटीका २३ जना सदस्यले हस्ताक्षरसहित ओलीलाई निवेदन बुझाउँदै अध्यक्ष पाण्डेलाई पदमुक्त गर्नुपर्ने माग गरेका हुन्। साथै, उनीहरूले संगठनको आन्तरिक संकटबारे छलफल गर्न तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव हीरामान लामासमक्ष पनि आग्रह गरेका छन्।
स्रोतका अनुसार ओलीलाई बुझाइएको निवेदनमा उपाध्यक्ष तथा केन्द्रीय महिला विभाग प्रमुख कृपा भण्डारी, बागमती इन्चार्ज प्रतिमा सिलवाल, महिला विभाग उपप्रमुख रेनु पराजुली लगायत २३ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ।
निवेदनमा अध्यक्ष पाण्डेले उक्त अडियोबारे कहिले एआई प्रविधिको प्रयोग भएको र कहिले आफूले नै बोलेको स्वीकारोक्ति दिएको प्रसंग उल्लेख गर्दै यसले संगठनको गरिमा र विश्वसनीयतामा गम्भीर आँच पुर्याएको ठहर गरिएको छ। सामाजिक सञ्जालमा पटक–पटक व्यक्त गरिएका अभिव्यक्ति तथा पुस ४ गते लेखिएको स्टाटसले पार्टी अध्यक्ष ओलीसहित अन्य नेताहरूलाई समेत अनावश्यक रूपमा बदनाम गराइएको निष्कर्ष निकालिएको छ।
निवेदनमा भनिएको छ, ‘लज्जास्पद अभिव्यक्तिबाट सिर्जित विवादमा आत्मालोचना र जिम्मेवारी स्वीकार गर्नुको सट्टा संगठनका महिला सदस्यलाई व्यक्तिगत रूपमा सम्पर्क गरी जिम्मेवारीबाट हटाउने धम्की दिने जस्ता व्यवहार अध्यक्षबाट देखिनु थप गम्भीर विषय हो।’
यस प्रकारका गतिविधिले प्रेस चौतारी नेपालभित्र गहिरो असन्तोष सिर्जना भएको उल्लेख गर्दै निवेदकहरूले संगठनको मर्यादा जोगाउन तत्काल निर्णय आवश्यक रहेको जोड दिएको जनआस्थाले समाचार लेखेको छ ।








