बाह्रबिसे ।

नेपाली काँग्रेस क्षेत्र नम्वर एकले बाह्रबिसेमा शुक्रवार चुनावी सभा आयोजना गर्यो । मोहनवहादुर बस्नेतलाई एकल रुपमा सिफारिस गरेर सभाको आयोजना गरेको हो । अर्को दल नेपाली कम्युनिस्ट पार्टीले यस क्षेत्रवाट माधव सापकोटालाई उम्मेदवार चयन गरेको छ । तर, नेकपा एमाले भने बाह्रबिसेमा नै दुईवटा कमिटी बनाएर बसिरहेको छ ।
नेपाली राजनीतिमा निर्वाचनको चर्चा बढ्दै जाँदा सिन्धुपाल्चोकमा भने नेकपा एमालेको अवस्था अन्य दलको तुलनामा अलमलिएको देखिन्छ । नेपाली काँग्रेसले क्षेत्र नम्बर १ मा चुनावी सभा नै आयोजना गर्दै निर्वाचनको स्पष्ट संकेत दिएको छ । उता नेपाल कम्युनिष्ट पार्टीले दुवै क्षेत्रमा सर्वसम्मत उम्मेदवार चयन गरिसकेको छ । यी गतिविधिले चुनावी वातावरण तातेको देखिए पनि दरिलो संगठन भएको भनिने एमाले भने सार्वजनिक रूपमा मौन देखिन्छ ।
एमालेभित्र उम्मेदवार छनोटका लागि आन्तरिक रूपमा सूची मागिएको चर्चा चलिरहेको भए पनि त्यसको ठोस संकेत बाहिर आएको छैन । समानुपातिकको सूची बुझाउने दिन आएपनि यहाँको कमिटीमा छलफल भएको खवर आएको छैन ।
यसको प्रमुख कारण भर्खरै सम्पन्न पार्टीको ११औँ महाधिवेशनपछिको आन्तरिक शक्ति सन्तुलन र त्यसबाट उत्पन्न असन्तुष्टि पनि हो । महाधिवेशनमा जिल्लाबाट केपी ओली पक्षका उम्मेदवारहरू मात्रै केन्द्रीय तहमा विजयी भए भने अर्को पक्षका सबै उम्मेदवार पराजित भए । यसले पार्टीभित्र असन्तुलन र मनोवैज्ञानिक विभाजनलाई थप गहिरो बनाएको छ ।
क्षेत्र नम्बर २ बाट शेबहादुर तामाङ,सुबास कर्माचार्य, हस्त पण्डित र डोल्मा तामाङ केन्द्रीय सदस्यमा विजयी भए । त्यस्तै क्षेत्र नम्बर १ बाट उपाध्यक्ष पदमा उम्मेदवार बनेका अरुण नेपाल, कमल नेपाल र आगदोर्जे शेर्पा विजयी हुन सकेनन् । यसले केपी ओली पक्षको नजरमा क्षेत्र नम्बर १ राजनीतिक रूपमा गतिलो नठहरिएको आँकलनलाई बल दिएको छ ।
त्यसअघि नै क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि चयनका क्रममा देखिएको असहमति अझै पूर्ण रूपमा समाधान भइसकेको छैन । संगठनभित्रको यही दरारले एमालेको निर्णय प्रक्रिया सुस्त बनाएको देखिन्छ । अझ बाह्रविसे नगरपालिका जो क्षेत्र नम्बर १ को केन्द्र पनि हो । त्यहाँ एमालेका दुई वटा समानान्तर कमिटी रहनु गम्भीर समस्या बनेको छ । एउटै पालिकामा दुई कमिटी हुनु संगठनात्मक कमजोरी मात्र होइन, चुनावी तयारीमा ठुलो बाधा पनि हो ।
एमाले अहिले संगठनात्मक द्वन्द्व, नेतृत्वप्रतिको असन्तुष्टि र क्षेत्रगत असन्तुलनको चक्रमा फसेको देखिन्छ । अन्य दलहरू उम्मेदवार, सभा र सन्देशसहित मैदानमा उत्रँदै गर्दा एमालेको मौनता रणनीतिक भन्दा पनि बाध्यात्मक जस्तो देखिन्छ । यदि समयमै आन्तरिक विवाद समाधान गरी स्पष्ट उम्मेदवार र राजनीतिक सन्देशसहित मैदानमा उत्रन सकेन भने, सिन्धुपाल्चोकमा एमालेले आफ्नो परम्परागत आधार गुमाउने जोखिमलाई नकार्न सकिँदैन ।






